आज १८औँ जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस

लोकपथ
49
Shares

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुतविरुद्धको १८औँ राष्ट्रिय दिवस संघीय राजधानी काठमाडौंसहित देशैभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

सरकारले वि.सं. २०६३ जेठ २१ गते तत्कालीन अन्तरिम व्यवस्थापिका संसद्बाट जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा को प्रस्ताव पारित गरेको थियो । त्यही दिनलाई आधार मान्दै सरकारले त्यसयता हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछुत दिवस मनाउने गरिएको छ । सोमबार पनि दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् ।

संयुक्त राजनीतिक दलित संघर्ष दलित, राष्ट्रिय दलित आयोग लगायत संघसंस्थाको संयुक्त आयोजनामा सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्नेछन् ।
त्यस्तै, दिवसकै अवसरमा प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् ।

नेपालमा हजारौँ वर्ष पहिलेदेखि सामाजिकरुपमा रहेको जातीय भेदभाव र छुवाछुतलाई पहिलो मुलुकी ऐन १९१० ले कानूनी मान्यता दिएको थियो । मुलुकी ऐनलाई जातीय भेदभाव नगर्ने व्यक्तिलाई नै कारबाही गर्ने व्यवस्था गरेको थियो । मुलुकी ऐन २०२० ले त्यसलाई हटाएपनि उत्पीडित समुदायलाई न्यायका लागि भने खासै प्रबन्ध गरेको थिएन ।

नेपालको संविधानले २०७२ ले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प छ ।

राज्यले कानूनीरुपमा संस्थागत गरेर समाजमा जात प्रथा स्थापित गरेको र अब कानूनीरुपमै त्यसलाई निरुपण गर्नुपर्ने भन्दै दलित समुदायले क्षतिपुर्तिसहितको विशेष व्यवस्था गर्न माग गर्दै आएको छ । शताब्दीऔँसम्म राज्यबाट पछाडि पारिएको समुदायलाई अब विशेष व्यवस्था गरेर उनीहरुको आर्थिक, सामाजिक तथा राजनीतिक शशक्तिकरण गरिनुपर्ने माग उठ्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?