मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय भइसकेको छैन : माधव नेपाल

लोकपथ
413
Shares


काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेस प्रदेश सरकारबारे आफ्नो पार्टीले अन्तिम निर्णय गर्न बाँकी नै रहेको बताएका छन् । एकीकृत समाजवादीसहित ६३ सांसदको हस्ताक्षरसहित जनमत पार्टीले आज आइतबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने समाचार सार्वजनिक भइरहेको बेला अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटबारे बोल्दै नेपालले भने, ‘वार्ता र संवादहरू भइरहेका छन् । ती वार्ता र संवाद सकारात्मक छन्, अहिले भर्खर पनि म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर यहाँ आएको छु । तर अन्तिम निर्णय गर्न बाँकी नै छ ।’उनले आफूहरू केन्द्र सरकारमा पनि रहेको र मधेसमा पनि पहिलादेखि नै सरकारमा रहेको र त्यसैलाई निरन्तरता दिइरहेको बताए ।

नेपालले केही दिनअघि पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । उनले भने, ‘अस्ति मात्र एमाले र माओवादी केन्द्रसँग वार्ता र संवाद भयो । वार्ताको क्रम चलिरहेको छ ।’ उनले वार्ताकै सिलसिलामा केही दिनअघि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको निवासमा पनि अन्य दलका नेतासँग कुराकानी भएको बताए । देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको र त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए । ‘कमिटमेन्ट फाइनल नगरिदिनुहोला भनेर प्रचण्डले भन्नुभयो’, अध्यक्ष नेपालले भने, ‘यसरी नै संवाद र छलफल भइरहेको छ । संवादमा विश्वास चाहिन्छ । विश्वासको आधारमा सहमति हुन्छ’, नेपालको भनाइ छ ।

उनले आफ्नो पार्टीमा सरकारबाट हटौँ र नहटौँ भन्ने दुवै मत रहेको पनि बताए ।मधेस प्रदेशमा एमाले र माओवादी केन्द्र जनमत पार्टीलाई मुख्यमन्त्री दिन तयार छन् । तर सरकार बनाउन एकीकृत समाजवादी र लोसपा दुबै दलको साथ चाहिन्छ ।
१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठनको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । यी सबै जोड्दा ६१ हुन्छ । प्रदेशमा कांग्रेसका २२ र जसपाका १८ सांसद छन् । तर जसपा विभाजन भइसकेकाले उपेन्द्र यादवसँग मधेस प्रदेशमा कति सांसद छन्, स्पष्ट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?