२५ वर्ष सिक्किमको मुख्यमन्त्री चलाएका चाम्लिङको लज्जास्पद हार

लोकपथ
3.7k
Shares

काठमाडौं । २५ वर्ष सिक्किमको मुख्यमन्त्री रहेका पवनकुमार चाम्लिङ हालै सम्पन्न विधानसभा निर्वाचनमा पराजित भएका छन् । अप्रिल १९ मा भएको विधानसभा निर्वाचनको नतिजा आज आइतबार आएको हो ।

भारत निर्वाचन आयोगका अनुसार पोक्लोक–कामराङ विधानसभा क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) प्रमुखसमेत रहेका पूर्वमुख्यमन्त्री चाम्लिङ भारी मतान्तरका साथ पराजित बनेका हुन् ।

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का भोजराज राईसँग चाम्लिङ ३ हजार ६३ मतको अन्तरले पराजित भएका हुन् । राईले ८ हजार ३७ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ७४ मतमा चित्त बुझाउनु परेको छ । यस क्षेत्रमा भारतीय जनता पार्टीका अर्जुन राईले जम्मा ७ सय ३९ मत मात्रै पाएका छन् ।

पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रमा पनि सिक्किम क्रान्तिकारी मोर्चाका उम्मेदवार राजु बस्नेत भन्दा पछाडि परेका छन् । चौथो अर्थात अन्तिम चरणको मतगणना भइरहँदा बस्नेतले ६ हजार ७ सय ४६ मत ल्याउँदा चाम्लिङले ४ हजार ८ सय ११ मत प्राप्त गरेका छन् । वर्तमान विधानसभामा चाम्लिङ एसडीएफका एक्ला सांसद थिए ।

वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) भने रेनोक र सोरेङ–चाकुङ दुवै क्षेत्रमा अगाडि रहेका छन् । यस पल्ट सिक्किममा एसकेएमले ३२ मध्ये ३१ सिट जित्ने निश्चित भएको छ । एसडीएफले १ सिट जितेको छ । स्यारी विधानसभा क्षेत्रमा एसकेएमका कुंगा निमा लेप्चालाई हराउँदै एसडीएफका तेन्जिङ नोर्बु लाम्था विजयी भएका छन् ।

चाम्लिड सन् १९९४ देखि २०१९ सम्म सिक्किमको मुख्यमन्त्री बनेका थिए । सबैभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी पहिलो भारतीय हुन्  । उनले पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको नामको रेकर्ड पनि तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?