तत्कालीन बाहिनीपति थापा र एसपी श्रेष्ठसहितलाई गम्भीर प्रकृतिको कारबाहीको तयारी

लोकपथ
5.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागीमा नम्बर ९ पशुपति बाहिनीका बाहिनीपति र स्टोर प्रमुखलाई कारबाही हुने भएको छ । आगलागी हुँदा बाहिनीपतिको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापा र स्टोर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र श्रेष्ठमाथि कारबाही हुने भएको हो ।

बाहिनीपति थापाको भने अहिले कार्य विभागमा सरुवा भइसकेको छ । घटनाको दुई दिनपछि गृह मन्त्रालयले छानबिन गर्न सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा गठन गरेको थियो । सशस्त्र प्रहरीले पनि अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको थियो । पाण्डे नेतृत्वको छानबिन समितिले गृह मन्त्रालयमा र दाहाल नेतृत्वको छानबिन समितिले सशस्त्र प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाइसकेको छ ।

पाण्डे नेतृत्वको गृहको छानबिन समितिले बाहिनीपति र स्टोर प्रमुखको कमजोरीका कारण आगलागी भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । सोही समितिको सिफारिसका आधारमा उनीहरूलाई कारबाही गर्न लागिएको हो ।
गत २७ चैतमा भएको आगलागीमा २० करोडभन्दा धेरैको क्षति भएको थियो ।छानबिन समितिले तत्कालीन बाहिनीपति थापामाथि समयमै सक्रियता नदेखाउँदा धेरै क्षति भएको आरोप लगाएको छ । साथै उनको कमाण्डमाथिसमेत प्रश्न उठाएको छ । सो प्रतिवेदनका आधारमा सशस्त्र प्रहरी मुख्यालयले उनीमाथि गम्भीर प्रकृतिको विभागीय कारबाही गर्न लागेको बताइएको छ ।

छानबिन समितिले आगलागीमा केन्द्रीय स्टोरका प्रमुखको पनि कमजोरी देखिएको समितिको प्रतिवेदनमा उल्लेख गरेको छ । आगलागीका बेला केन्द्रीय स्टोरको प्रमुखमा प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ थिए । यसअघि नै श्रेष्ठसहित स्टोर शाखाका सबै सशस्त्र प्रहरीलाई प्रधान कार्यालयले जिम्मेवारीबाट हटाइसकेको छ ।

सो आगलागीमा परी सशस्त्र प्रहरीका कर्मचारीका जुत्ता, कपडालगायतका सामान जलेका थिए । ती सामान सशस्त्र प्रहरी कर्मचारीलाई दिने तयारी भइरहेको थियो । कतिपय ठेकेदारले बुझाएका तथा सशस्त्र प्रहरीले बुझिनसकेका सामानसमेत जलेर नष्ट भएको थियो । छानबिन समितिले विद्युत् सर्ट भएर आगलागी भएको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?