सडक निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
245
Shares

काठमाडौं । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

उनका अनुसार मुद्दा दायर हुनेहरुमा असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा, सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमी रहेका छन्।

उनीहरुमाथि जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र सोही जरिवाना गर्न अभियोग पत्रमा मागदाबी गरिएको अख्तियारले जनाएको छ।

उनीहरूले आर्थिक वर्ष २०७७–७८ मा मुगुको सोरु गाउँपालिका वडा नं।७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारको पत्रमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?