कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनसँग मेयर बालेन किन रिसाए ?

१५ मिनेट चलेको थियो नोकझोंक

लोकपथ
1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकका प्रमुख बालेन्द्र शाह (बालेन) र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच कार्यपालिका बैठकमै चर्काचर्की भएको छ ।

शुक्रबार बिहान बसेको कार्यपालिका बैठकमा समय लिएर बोलका वडाध्यक्ष महर्जनले आफू नभएको समयमा बिहीबार महानगर प्रहरी आएर आफ्नो कार्यालयबाट फाइल उठाएर लगेको भन्दै आक्रोश पोखेका थिए । उनले यो काम आफ्नो वडामा मात्रै भएको हो कि अर्काे वडामा पनि भन्दै जिज्ञासासमेत राखेका थिए । उनले कसको आदेशमा यो काम भएको भन्दै कार्यपालिका बैठकमा प्रश्न गरेका थिए । उनले कागजात नहुँदा सेवाग्राहीलाई सेवा दिन पनि समस्या भएको भन्दै आक्रोश पोखेका थिए ।

महानगर प्रहरीले आफ्नो कार्यालयबाट कागजात लगेको विषयलाई उनले डकैतीसम्म भन्न भ्याएका थिए । उनले आफू पनि जनताबाट चुनेर आएको जनप्रतिनिधि भएको भन्दै नहेप्न चेतावनी पनि दिएका थिए । उनको आक्रोश बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार जवाफ दिन तम्सिए ।

वडाध्यक्ष महर्जनलाई प्रमुख प्रशासकीय अधिकृत परियारको जवाफ थियो, ‘घरबहाल करसम्बन्धी फाइल अध्ययनका लागि फाइल उठाएर लगिएको हो । राजस्व विभागबाट केही फरक देखिएकाले फाइल लानु परेको हो । २२ नम्बरमा मात्रै नभई अरु वडामा पनि आन्तरिक राजस्व विभागसँग सहकार्यमा यो काम भएको हो ।’

परियारको जवाफपछि वडाध्यक्ष महर्जन झन चर्किए । ‘हामी वडावासीलाई कुनै लालपूर्जाको फोटोकपी भएन भने त्यो मात्रै फोटोकपी गरेर पठाउँछौँ, तर, के गर्न खोजिएको हो ? म प्रतिपक्षी हो र ? म पनि मेयरसाब जस्तै जनताले चुनेर पठाएको जनप्रतिनिधि हुँ । मसँग किन यस्तो व्यवहार गरिन्छ ?’ उनले न्यूरोडमा महानगरले गरेको फुटपाथ विस्तारप्रति पनि आपत्ति जनाए । विस्तार गर्नुअघि आफूहरुसँग सल्लाह गर्नुपर्ने उनको भनाइ थियो ।

‘देशकै पपुलर ल्यान्डमा सडक बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने ?’ उनको प्रश्न थियो । लामो समयसम्म उनको कुरा सुनिरहेका महानगर प्रमुख बालेन न्यूरोडको कुरा पछि भने चर्किए । ‘तपाईंको वडामा पत्रिका पढेर थाहा पाउनुभयो ?,’ महानगर प्रमुख बालेनले भने, ‘तपाईंकोमा कि २४ नम्बर वडामा ? २४ मा फुटपाथ बढाउँदा तपाईंलाई के समस्या भयो ?’ बालेनले मान्छेलाई हिँड्न गाह्रो भयो, सेक्सुयर ह्यारेसमेन्ट भयो, पाकेटमार बढ्यो भन्ने गुनासा आएपछि सडक विस्तार गर्न लागिएको जानकारी दिए ।

बालेनसँग वडाध्यक्ष महर्जन पनि प्रतिप्रश्न गर्न थालेपछि बालेनले प्रश्न गरे, ‘फुटपाथको साइज कति चाहिन्छ थाहा छ ?’ वडाध्यक्ष महर्जनले जवाफमा सडक विभागले आपत्ति जनाएको बताए । त्यसपछि बालेनले फुटपाथ सडक विभागले बनाएको नभई महानगरले बनाएको बताए ।

त्यसक्रममा महानगर प्रमुख शाहले सडक विभागले गरेको काम गैरकानुनी भएको भन्दै आफूहरुले कारबाही गर्नेसमेत बताएका थिए । उनले उक्त क्षेत्र सडक विभागको कार्यक्षेत्रभित्रै नपर्ने दाबीसमेत गरेका थिए । ‘पहिलो कुरा सडक विभागको अधिकार क्षेत्रमैै पर्दैन त्यो बाटो, सडक विभागले बनाएको हो र त्यो बाटो ? उसले किन पत्र काट्दैछ उसलाई थाहा होला । यहाँ बसेर सहमति गरिसकेपछि पत्र काट्छ भने हाम्रो जिम्मेवारी हो र ?

मेयर शाहलाई वडाध्यक्ष महर्जनले थप प्रश्न गरे, ‘यो घटना विकास भइसकेपछि छलफल गर्नुपर्छ कि पर्दैन ?’

करिब १५ मिनेट बालेन र वडाध्यक्ष महर्जनबीच नोकझोंक चलेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?