मेयर बालेनको दाबी : सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले नै न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे

लोकपथ
427
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले न्यूरोडमा तीन फिट फुटपाथ बढाइरहेको छ । महानगरपालिकाको यो कदमको विरोध भएपछि उनले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरुले विरोध गरेको बताएका हुन् ।

एउटा रोचक कुरा पढ्नु हुन्छ ? भन्ने शीर्षकमा बालेनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भनेका छन्, ‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’

उनले अगाडि भनेका छन्, ‘त्यस्तै, सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला । प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ । विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यावसाययिक, सुन्दर बनाउँन एकजुट बनौँ ।’

काठमाडौं महानगरले न्युरोड क्षेत्रका सडक बिनाअनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र नै पठाएको छ । यही कारण महानगर र सडक विभागबीच टसलसमेत देखिएको छ । टसलकै बीच जेठ १२ गते महानगरपालिकाले चक्रपथ विस्तारको काममा ढिलासुस्ती भएको भन्दै सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?