अन्ततः पक्राउ परे सिबी लामा

एक्लैले अपचलन गरेका थिए १ अर्बभन्दा बढी रकम

काठमाडौं । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनबाट पक्राउ गरेको हो । सहकारी समस्यामा परेपछि फरार रहेका लामालाई अहिले काठमाडौं ल्याइँदै छ ।

कान्तिपुर सहकारीका अध्यक्ष लामाले कान्तिपुर सहकारीमा निक्षेप राखेका लगानीकर्ताको अरबौँ रकम अपचलन गरेका थिए । उनीसतिका सञ्चालकहरूले निक्षेपकर्ताको रकम अपचलन गरेका थिए । लामा एक्लैले निक्षेपकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको थियो । सरकारले गत फागुन २७ गते लामासहित कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो ।

आकर्षक ब्याज दिन्छु भनी फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई रकम फिर्ता नगरी ठगी गरेको भन्दै ८५२ जनाले प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।

चक्रलाल श्रेष्ठसमेत कुल ८५२ जनाको जाहेरीका आधारमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी लगायतका ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको थियो । प्रहरीले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पछिल्लो अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा, देवराज पराजुली, लेखा सुपरीवेक्षण समितिका संयोजक कञ्चन तामाङ, सुपरिवेक्षण समितिका सदस्य उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया तथा पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्र बहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर हुँदा हाल अध्यक्ष रहेका हिमालय विक्रम मल्ल मात्रै पक्राउ परेका थिए भने अन्य फरारको सूचीमा रहेका थिए । हाल पक्राउ परेका लामा नेपाली काँग्रेस काभ्रेका पूर्व कोषाध्यक्ष एवम् काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा सिफारिससमेत भएका व्यक्ति हुन् ।

लामा एक्लैले गरेका थिए निक्षेपकर्ताको १ अर्ब अपचलन
प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा दायर गरेको सहकारी ठगीको मुद्दामा कान्तिपुर सहकारीका व्यवस्थापक तथा पूर्व अध्यक्ष लामा एक्लैले निक्षेपकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।

आकर्षक ब्याज रकम दिन्छु भन्दै निक्षेपकर्तालाई फिक्स्ड डिपोजिटमा रकम राख्न लगाएर निक्षेपकर्ताको रकम फिर्ता नगरी घरजग्गा, होटल, रेष्टुरेन्ट, रिसोर्ट, कान्तिपुर अस्पताल आदिमा लगानी गरिएको थियो । त्यस्तो लगानी लामो समयसम्म अध्यक्ष र व्यवस्थापक रहेका सिबी लामाले नै गरेका थिए । निक्षेपकर्ताको रकममध्येबाट पूर्व अध्यक्ष सिबी लामा एक्लैले एक अर्ब रुपैयाँभन्दा बढी रकम व्यक्तिगतरुपमा अपचलन गरेको पाइएको थियो ।

पछिल्लो समय अध्यक्ष रहेका हिमालय विक्रम मल्लले अनुसन्धान अधिकारीसमक्ष दिएको बयानमा लामाले पशुपति सहकारी पनि डुबाएपछि कान्तिपुर सहकारी आफूहरूले सम्हालेको उल्लेख छ ।

मल्लले दिएको बयानको अंश यस्तो थियो : …निज चन्द्रबहादुर तामाङ (सिबी लामा) सँग चिनजान भई निजसँग भेटघाट सम्पर्क भई एक आपसमा राम्रै सम्बन्ध भइसकेपछि २०५३ सालतिर निज सिबी लामा भन्ने चन्द्र बहादुर तामाङले मिलेर सहकारी संस्था खोलौँ तपाईं लगायत अन्य साथीहरू पनि सेयर सदस्य बन्नुपर्छ भनी भनेपछि म लगायत अन्य थुप्रै मानिसहरू भई कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी संस्था खोली स्थानीय मानिसहरूको बचत रकम संकलन गरी ऋण प्रवाह गर्ने, बचत कर्तालाई रकम बचत गरे बापत ब्याज दिने जस्ता कार्य गर्दै आई रहेका थियौँ । सो समयमा उल्लेखित सहकारी संस्था दर्ताको सम्पूर्ण प्रक्रिया निज सिबी लामा भन्ने चन्द्र बहादुर तामाङले नै गरेका थिए ।

… अध्यक्षमा निज सिबी लामा नै थिए भने प्रतिवादीहरू प्रेमध्वज लामा कोषाध्यक्ष, जोगलाल लामा सचिव पदमा कार्यरत थिए भने म, सानु कान्छा लामा, ईन्दु थापा, नारायण प्रसाद रिमाल सञ्चालक समितिको सदस्य भई कार्य सम्पादन गर्दै आई रहेका थियौँ । सहकारी संस्था सरल रूपमा चल्दै आई रहेको थियो भने बचतकर्ताहरूको सङ्ख्या पनि थपिँदै गई सहकारीको निक्षेप सङ्कलन पनि राम्रै भई रहेको थियो । केही समयपछि बचतकर्ताको रकम धेरै हुनुका साथै बजारमा ऋणको मागमा कमी आएपछि आम्दानी भन्दा खर्च बढी हुने स्थिति आएको थियो । त्यसपछि बचतकर्ताको सावाँ र ब्याज रकम फिर्ता दिनुका साथै अन्य खर्च तथा कार्यालय तथा कर्मचारीको व्यवस्थापनको लागि सञ्चालक समितिले निर्णय गरी सहकारी संस्थालाई सुचारु रूपले सञ्चालन गर्न बचतकर्ताहरूबाट सङ्कलन हुन आएको बचत रकमबाट केही रकमले जग्गा जमिनको कारोबार गरी जग्गा जमिन खरिद बिक्री गर्नुका साथै जिल्ला काठमाडौं स्थित सुविधानगरमा कान्तिपुर अस्पताल प्रालि समेत सञ्चालन गरी रहेका थियौँ ।

… नाफा हुन आएको रकमलाई बचतकर्ताको सावा तथा ब्याज समेत भुक्तानी गर्ने कार्य गरी राम्रै कारोबार हुँदै आई रहेको थियो । यसै क्रममा कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष सिबी लामाले २०५५ साल देखि नै आफू अध्यक्ष भई पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक अर्को सहकारी संस्था समेत सञ्चालन गर्दै आई रहेका थिए । २०७५–०७६ साल तिर उल्लेखित पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड को कारोवारमा समस्या आई बन्द हुने अवस्था आएको थियो । निज सिबी लामा भन्ने चन्द्र बहादुर तामाङ कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको अध्यक्ष भई काम गरेमा कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समेत असर पर्ने अवस्था आएपछि अन्य साथीहरू कोही अध्यक्ष बन्न नमान्नुका साथै सहकारी विभागले समेत एकै व्यक्तिलाई दुई ठाउँमा अध्यक्ष भई काम गर्न नपाउने नीति ल्याएपछि, सञ्चालक समितिका अन्य साथीहरूले मलाई अध्यक्ष बन्न आग्रह गरेपछि २०७६ साल पौष महिनामा साधारण सभा भई मलाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेका थिए भने कोषाध्यक्ष एवम् प्रबन्ध सञ्चालकमा प्रेमध्वज लामा स्थापना काल देखि नै काम काज गर्दै आई रहेका थिए ।

… सो समयमा उल्लेखित सिबी लामाले आफू अध्यक्ष भएकै कारण आफ्नो नाममा र आफ्ना आफन्तहरूको नाममा साँवा र ब्याज गरी करिब एक अर्ब रुपैयाँ भन्दा बढी चलाएका थिए । उल्लेखित रकम समेत सिबीले हाल सम्म फिर्ता गरेका छैनन् । तर पनि अन्य सञ्चालक समितिका साथीहरूले मलाई नै अध्यक्ष बन्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरे पनि हामीले उल्लेखित कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई सुचारु रूपले चलाउँदै आई रहेका थियौँ । सिबी लामा पूर्व अध्यक्ष भएको हैसियतले आफूले लिएको करिब एक अर्ब रुपैयाँ फिर्ता बुझाई सहकारी सञ्चालनमा भूमिका खेल्नु पर्नेमा हालसम्म उल्लेखित रकम फिर्ता दिएका छैनन् । निजले समेत एक अर्ब भन्दा बढी रकम लिएका छन् ।’

बचतकर्ताको रकमबाट कर्मचारी र सञ्चालकको आफन्तको नाममा घर जग्गा
अध्यक्ष मल्लले प्रहरीलाई दिएको बयानमा कान्तिपुर सहकारीमा फिक्स्ड डिपोजिट राख्ने निक्षेपकर्ताको रकमबाट पूर्व अध्यक्ष सिबी लामा लगायतले सहकारीका कर्मचारी तथा सञ्चालकको आफन्तहरूको नाममा समेत घरजग्गा खरिद गरिएको छ । अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीले प्रहरीसमक्ष दिएको बयानमा सहकारी तथा सहकारी संस्थासँग सम्बन्धित मानिसहरूको नाममा समेत गरी करिब साढे ४ अर्बको अचल सम्पत्ति रहेको छ । त्यसैगरी सहकारीले विभिन्न व्यक्ति, संस्था तथा व्यापारका लागि साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको पाइएको छ । त्यस्ता ऋणहरूमा कुनै न कुनै कोणबाट पूर्व अध्यक्ष सिबी लामा नै जोडिएका छन् ।

पशुपति सहकारी पनि लामाले नै डुबाए
कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ९कान्तिपुर सहकारी० मात्रै होइन, सिबी लामाले पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड पनि यसैगरी डुबाएका थिए । २०७७ साउन महिनादेखि बचतकर्ताको निक्षेप फिर्ता गर्न नसकेपछि २०८० साउनमा पशुपति सहकारीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । उक्त सहकारीमा निक्षेपकर्ताको ५३ करोड रुपैयाँभन्दा बढी रकम डुबेको छ । उक्त सहकारी समस्याग्रस्त घोषणा भएसँगै २०८० जेठमा सिबी लामासहितलाई पक्राउ गर्न सिआइबीमा पत्राचार भएपछि लामा फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?