कान्तिपुर सहकारीका पूर्व अध्यक्ष सिबी लामा पक्राउ

लोकपथ
1.2k
Shares

काठमाडौं । कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई चितवनबाट पक्राउ गरेको हो । सहकारी समस्यामा परेपछि फरार रहेका लामालाई अहिले काठमाडौँ ल्याइँदै छ ।

कान्तिपुर सहकारीका अध्यक्ष लामाले कान्तिपुर सहकारीमा निक्षेप राखेका लगानीकर्ताको अरबौं रकम अपचलन गरेका थिए । उनीसहितका सञ्चालकहरुले निक्षेपकर्ताको रकम अपचलन गरेका थिए । लामा एक्लैले निक्षेपकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको पाइएको थियो ।

सरकारले गत फागुन २७ गते लामासहित कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो ।

आकर्षक ब्याज दिन्छु भनी फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई रकम फिर्ता नगरी ठगी गरेको भन्दै ८५२ जनाले प्रहरी वृत्त बानैश्व्रमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।

चक्रलाल श्रेष्ठसमेत कुल ८५२ जनाको जाहेरीका आधारमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी लगायतका ११ जना सञ्चालकविरुद्ध ठगीको कसुरमा मुद्दा दायर भएको थियो ।

प्रहरीले कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पछिल्लो अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा, देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिका संयोजक कञ्चन तामाङ, सुपरिवेक्षण समितिका सदस्य उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया तथा पूर्व अध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्र बहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर हुँदा हाल अध्यक्ष रहेका हिमालय विक्रम मल्ल मात्रै पक्राउ परेका थिए भने अन्य फरारको सूचीमा रहेका थिए । हाल पक्राउ परेका लामा नेपाली काँग्रेस काभ्रेका पूर्व कोषाध्यक्ष एवम् कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा सिफारिससमेत भएका व्यक्ति हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?