सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो  

लोकपथ
56
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे यता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घट्दै २०६९.५३ मा रह्यो ।

९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ ।

यसअघि बुधबार परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्ँदा १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार १३ मध्ये उत्पादन तथा प्रशोधन, जलविद्युत र फाइनान्सबाहेक सबै उपसमूह घटेका छन् । वाणिज्य बैंक उपसमूह सर्वाधिक १.७२ प्रतिशतले घटेको छ । २४७ कम्पनीको सेयर कारोबारमा १७३ को सेयरमूल्य घटेको छ । 

पोखरा फाइनान्सका लगानीकर्ता धेरै नोक्सानीमा छन् । उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ । कालिञ्चोक दर्शन, बाराही हाइड्रोपावर, नेपाल वेयरहाउस पनि घटेका छन् ।

७० कम्पनीको सेयरमूल्य बढ्दा तीन कम्पनीको सर्किट नै लागेको छ । नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरका सेयरमा सर्किट लागेको हो । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र युनिलिभर नेपालको सेयर पनि सर्किटस्तरमा बढेको छ ।

सेयरमूल्य बढेर सर्किट लागेको नेपाल फाइनान्स नै बिहीबार सर्वाधिक कारोबार भएको कम्पनीमा परेको छ । उक्त फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै ज्ञादी ग्रुप अफ पावरको १५ करोड ३० लाख, जानकी फाइनान्सको १३ करोड ६० लाख, सीइडीबी हाइड्रोपावरको १२ करोड ३ लाख र कालिञ्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?