हाय गर्मी : बढ्यो हिट वेभ

लोकपथ
28
Shares

काठमाडौँ । के तपाईँलाई आज भन्दा दुई वर्ष अगाडिको गर्मी यामको मौसमबारे थाहा छ ? वर्ष २०२२ सबैभन्दा तातो वर्षको रूपमा रहेको थियो । (अलजजिरा टिभी च्यानलले धेरै भारतीय राज्यहरू गम्भीर तातो (गर्मी)को लहरमा परेको भनेर अप्रिल १९ मा हेडलाइनमै राखेको थियो।)

वर्ष सन् २०२२ मा भारतमा यति धेरै गर्मी बढेको थियो कि १ सय २२ वर्षकै रेकर्ड तोडिएको थियो । ‘भारतले १२२ वर्ष यताकै तातो अप्रिल देखेको छ’ १ मे मा भारतीय मौसम विज्ञानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको वाक्य हो यो ।२०२२ को गर्मी यतिमै सीमित थिएन, फेरी वर्ष ०२३ को गर्मीले २०२२ को रेकर्डलाई माथ मात्र दिएन उत्तरी गोलार्धमा २ हजार वर्ष यताकै धर्तीमा सबैभन्दा तातो समर भएको वैज्ञानिकहरूले घोषणा गरेका थिए ।

हामी अब वर्ष २०२४ मा छौँ । पछिल्लो ११ महिना धर्तीमा गर्मी बढ्ने क्रमले एकपछि अर्को रेकर्ड तोडिरहेको छ ।
फक्स वेदरले २०२४ को पहिलो महिना पृथ्वीको सबैभन्दा तातो जनवरी भनेर मापन गरेको थियो । यस्तै, फोब्र्सले २०२४ को फेब्रुअरी महिनालाई सबैभन्दा तातो महिना भएको भनेर रेकर्डमा राखेको थियो । गर्मीको बढ्दो क्रमले पछिल्लो ११ महिनामा पारो मात्रै बढाएको छैन एक पछि अर्को महिनाको तापक्रम वृद्धिमा झन्झन् रेकर्ड कायम गर्दै उकालो लाग्दै छ । मार्च महिना पनि भारतका लागि सबैभन्दा गर्मीको महिना बनेर आयो । अप्रिल महिना पनि सबैभन्दा तातो महिना बनेको भारतीय मौसम विभागले रेकर्डमा राखेको छ ।

पछिल्लो ११ महिना गर्मीको बढ्दो क्रमले धर्तीमा जुन रफ्तार लिएको छ यो सामान्य कुनै हालतमा होइन । पछिल्लो महिना (अप्रिल) मा दक्षिण भारत र सम्पूर्ण दक्षिणपूर्व एसियामा यस्ता रेकर्ड तोड्ने ‘हिट वेभ’ अर्थात् तातो हावाको लहर धेरै ठाउँमा देखिएका छन् । भियतनाम, सिंगापुर, मलेसिया, इन्डोनेशियालगायतका देशहरूमा असह्य तापक्रम वृद्धि भएको छ ।

फिलिपिन्समा अप्रिल २८ र २९ को तापक्रम ‘हिट इन्डेक्स’ सूचकांक ५३ डिग्री सेल्सिएस पुगेको थियो । उक्त समय संयुक्त राष्ट्र संघको मौसम तथा जलवायु परिवर्तन एजेन्सीले एसियाको तापक्रम तीब्र गतिमा बढिरहेको बतायो । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी जोखिम परेको देश फिलिपिन्स भएको समेत एजेन्सीले किटान गरेको फिलिपिनी मिडिया एबिएस–सिबएनले उल्लेख गरेको थियो ।

यसैबीच उत्तराखण्डमा जङ्गलमा आगलागी भयो । मे महिनाको पहिलो हप्तामै उडिसा, झारखण्ड, मध्यप्रदेश, छत्तिसगढलगायतका जिल्लामा पनि धेरै ठाउँका धेरै जङ्गलमा पनि आगलागी भए । भारतमा अहिले देशभर हिट वेभको चेतावनी दिइरहेका छन् । यहाँसम्म कि केरला जहाँ आम रूपमा हिट वेभको सम्भावना निकै न्यून हुन्छ, त्यहाँ समेत मौसम विभागले गर्मीको चेतावनी दिएको छ । अहिले नर्थ इण्डियामा ४६ डिग्री भन्दा माथि तापक्रम पुगेको छ । बुधवार (हिजो) नयाँ दिल्लीको मुंगेशपुर इलाकामा ५२।३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

लोकसभा निर्वाचनको अन्तिम चरणमा रहेको भारतमा हिट वेभले (तातो हावा)ले प्रभावित भएको छ । हाल भारतका विभिन्न राज्यका विभिन्न इलाकामा बढ्दो तापक्रम वृद्धिले ठूलो संख्याको आवादीलाई नकारात्मक प्रभाव पारेको छ । यो अवस्था यसरी नै अघि बढ्ने हो भने उष्णकटिबंधीय हिन्द महासागरको भविष्य शीर्षकमा गरिएको एक अध्ययनले २०५० सम्ममा विश्वमा तापक्रम वृद्धिको अवस्था निकै बढ्ने र भारतका कतिपय एरियामा एक वर्षमा २२० देखि २५० दिनसम्म हिट वेभ देखिने उल्लेख गरेको छ ।

तापक्रम वृद्धि भारतको मात्र समस्या होइन । नेपालमा पनि मौसम विभागले वैशाखको पहिलो सातामै तातो लहर (हिट वेभ) को घोषणा गरिसकेको छ । तराईका विभिन्न जिल्लाका भिन्न भिन्न क्षेत्रमा तापमान ४० डिग्री देखि ४४ डिग्री सम्म मापन भएका छन् । विभागले तेस्रो हिट वेभको चेतावनी जारी गरेको दुई दिनपछि आज मध्यान्ह १२ बजे सुदूरपश्चिमको धनगढी सबैभन्दा बढी तातेको छ । त्यहाँको तापक्रम ९ सवा १२ बजे० ४३ दशमलव ३ डिग्री पुगेको छ ।

यस्तै, नेपालगञ्जमा ४२ दशमलव ८ डिग्री तापक्रम मापन हुँदा जनकपुरमा ३९ दशमलव ८ डिग्री, घोराही, भैरहवा, सिमरा लगायतका स्थानमा पनि ४० डिग्रीको आसपास तापक्रम बढेको छ । तराईका जिल्लाहरूमा भन्दा अनुकूलन रहने काठमाडौँको तापक्रम समेत पछिल्लो समय निकै बढेको छ । आज काठमाडौँमा ३३ दशमलव २ डिग्री तापक्रम पुगेको छ ।

तराई मधेशका जिल्लाहरूमा गर्मी बढ्दा जनजीवन कष्टकर बनेको छ । चर्को घामसँगै तातो हावा चल्दा त्यहाँका नागरिक दिउँसो घरबाट बाहिर निस्किनै सकेका छैनन् भने विद्यालयमा पठनपाठनका लागि समस्या भएपछि रौतहट, कैलालीलगायतका कतिपय स्थानीय तहले एकपछि अर्को गरी विद्यालय बन्द गराइरहेका छन् । आर्थिक रूपमा कमजोर वर्गलाई )दैनिक ज्याला मजदुरी गर्ने हिट वेभले निकै असर पुर्‍याउने अनुमान गरिएको छ ।

मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ भएकाले अझै दुई हप्तासम्म नेपालमा गर्मी बढ्ने अनुमान सहजै गर्न सकिन्छ । सरदर मिति जुन १३ भएपनि कहिलेकाँही केही दिन ढिला गरी मनसुन भित्रिने र केही दिन ढिलै गरी बाहिरिने गरेको रेकर्ड छ । अघिल्लो वर्षको मनसुन एक दिन ढिला गरी प्रवेश गरेर एक दिन नै ढिला गरी बाहिरिएको थियो ।

नेपालको मनसुनी प्रणाली भारको प्रणालीसँग सम्बन्धित छ । भारतमा मनसुन भित्रिएको हप्ता–दश दिनभित्र नेपालमा मनसुन आइपुग्छ । तर सधैँ यस्तै अवस्था हुन्छ भन्ने एकिन गर्न चाहिँ गाह्रो छ । भारतको मौसम विज्ञान विभागले हिजो जारी गरेको विज्ञप्तिमा बिहीबार (आज) सम्म मनसुन भित्रिन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

तर, दिउँसो १ बजेसम्म भारतमा मनसुन भित्रिसकेको कुनै जानकारी विभागले गराएको छैन । भारतको केरलामा सबैभन्दा पहिले मनसुन भित्रिन्छ र बिस्तारै देशभर फैलिन्छ । नेपालमा पनि दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्दछ । मनसुन अवधिमा वार्षिक वर्षाको सरदर ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यस वर्षको मनसुन अवधि (जुनदेखि सेप्टेम्बर महिनासम्म) मा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसम विभागले गरे पनि यो वर्ष नेपालमा कहिले मनसुन भित्रिन्छ भनेर अहिले नै यकिन गर्न सकेको छैन ।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी एवं जलवायु विज्ञान महाशाखा एवं विश्लेषण शाखाकी प्रमुख विभूति पोखरेलले भनिन्, ‘नेपालमा यो वर्ष मनसुन यति नै गते भित्रिन्छ भनेर अहिले नै किटान गर्न सक्ने अवस्था बनेको छैन । भारतमा आजसम्ममा मनसुन भित्रने वातावरण बन्ने भनिएको छ, तर भारत आइपुगेर नेपालमा भित्रिन ढिला हुने गरेको विगत छ । केही दिन नहेरी यसै भन्न सकिने अवस्था छैन ।’

यद्यपि आज भारतमा मनसुन भित्रियो भनेपनि अझै साता दश दिनसम्म नेपालमा गर्मीको मार परिनै रहने छ । भारत होस् कि नेपालको तापक्रम वृद्धि, यो सबको पछाडिको सिधा कारण भनेको ग्लोबल वार्मिङ नै हो । तर, यो मात्र तापक्रम वृद्धिको कारण होइन । यसका अन्य दुई प्रमुख कारण पनि छन्, र त्यसले लोकल लेबलमा पार्ने असरको समाधान कसरी गर्न सकिन्छ ?गर्मीबाट बच्न के गर्न सक्छौँ सो बारेमा पनि जानकार रहन जरुरी भएको छ ।

ग्लोबल वार्मिङपछि पृथ्वीमा तापक्रम वृद्धिको अन्य दुई कारण के के हुन ?
पछिल्लो समय तापक्रम वृद्धि केवल भारत र उत्तरी साउथ एसियामा मात्र नभएर विश्वका विभिन्न स्थानमा देखिइरहेको छ । यही मे महिनामा साउथर्न अमेरिकाको ब्राजिलमा डेढ लाख ज्यादा मानिस विस्थापित हुने गरी भारी वर्षा भयो र पुरै सहर नै पानीमा डुब्यो । भयानक बाढी पहिरोमा परि ८३ जनाले ज्यान गुमाए भने त्यतिबेला त्यहाँका मिडियाले १ सय ज्यादा मानिस बेपत्ता भएको समाचार प्रकाशित गरेका थिए । यस्तै, साउथ अफ्रिकामा यतिबेला नागरिकहरु भयानक सुख्खापनसँग जुधिरहेका छन् । विश्व खाद्य विश्व खाद्य कार्यक्रमले त्यो सुख्खापनलाई सन् १९४७ यताकै असामान्य परिस्थिति भएको बताएको छ । जसले भोकमरीको अवस्था ल्याउने भन्दै कतिपय साउथ अफ्रिकी देशहरूले ५ दशमलव ५ बिलियन डलर अन्य राष्ट्रसँग माग गरेका छन् । सन् २०१५–१६ मा एल निनोका कारण देखा परेको चरम खडेरी र बाढीले ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षालाई असर गरेको संयुक्त राष्ट्र खाद्य र कृषि सङ्गठनले उल्लेख गरेको थियो ।

के हो एल निनो ?
एल निनो स्पेनिस भाषाबाट आएको शब्द हो । एल निनो भनेको केटा र ला निनो भनेको सानी केटी हो ।
प्रशान्त भूमध्यीय क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना एल निनो हो । एल निनो जलवायुको प्राकृतिक साइकल हो । यसको पूरा नाम ‘एल निनो साउर्थन असेलेसन’ (इएनएसओ) अर्थात्, ‘एल निनो दक्षिणी दोलन’ हो । एल निनो प्राकृतिक जलवायु परिस्थितिको एउटा हिस्सा हो। अमेरिकी जियोसाइन्स इन्स्टिच्यूटका अनुसार एल निनो र ला निनो दुवै प्रशान्त महासागरको समुद्री सतहको तापक्रममा वेला–वेला हुने परिवर्तनसँग जोडिएको छ । यी दुईको प्रभाव संसारभरको मौसममा पर्दछ । एल निनोले मौसममा निकै गहिरो असर पार्छ। यो आउँदा विश्वभरको मौसम प्रभावित हुन्छ। यसले गर्दा वर्षा र गर्मी दुवै मौसममा फरक पार्छ । हरेक पाँच देखि सात वर्षको अन्तरालमा देखिने एल निनो क्लाइमेट चेन्जको कारण झन् चाँडो चाँडो देखिन थालेको विज्ञहरुले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको अनुसार धर्तीको क्लाइमेट परिवर्तन हुनुमा इएनएसओ दोस्रो ठूलो कारण हो । एल निनो भन्दा पनि पहिलो तापक्रम वृद्धिको कारण चाँही पृश्वी र सूर्यबीचको सम्बन्धलाई मानिएको छ । किनभने पृथ्वी सूर्यको वरिपरि घुम्ने हुँदा जाडो पछि गर्मी र गर्मी पछि जाडो मौसमको साइकल निरन्तर चल्दै आएको छ । यो साइकल पछि एल निनोकै असर सबैभन्दा बढी पर्ने विज्ञले बताएका छन् ।

एल निनो आएको बेला मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ । पूर्वदेखि पश्चिमतर्फ बहने गर्छ । जसलाई ट्रेन्ड विन्ड पनि भनिन्छ । जुन हावा धेरै जसो साउथ अमेरिकादेखि अस्ट्रलियाको क्षेत्रमा बहने गर्दछ । त्यो कोरिओलिस इफेक्टस्को कारण हुने गर्छ । धर्ती पश्चिमबाट पूर्वतर्फ घुम्ने गर्छ र त्यो कोरिओलिस इफेक्टस्को कारण हावा उल्टो तिर बहने गर्छ । त्यसो हुँदा प्रशान्त महासागरमा रहेको सतहको पानी (अष्ट्रेलियातर्फ) पश्चिमी दिशामा प्रवाह हुन थाल्छ । तातो पानी पश्चिमी दिशामा प्रवाह हुँदा समुन्द्रको पूर्वी दिशामा रहेको पानी माथि पट्टी आउँछ, अर्थात् पानी साउथ अमेरीका तर्फ प्रवाह हुन थाल्छ ।

जुन प्रकृयालाई अपवेलिङ (उत्थान) भन्ने गरिन्छ । समुन्द्रको मुनिबाट माथितर्फ आएको पानी सतहको पानी भन्दा धेरै चिसो र पोषकतत्वयुक्त हुन्छ । यहाँ हामीले के बुझ्नुपर्छ भने सामान्य अवस्थामा प्रशान्त महासागरको सतहको तातो पानी अष्ट्रेलियातर्फ र समुन्द्रमुनिको चिसो पानी अमेरिकातर्फ प्रवाह हुने गर्छ । जब पानी तातो हुन्छ त्यो सजिलैसँग वाष्पीकरण हुन्छ र बादल बन्छ । त्यसैले अष्ट्रेलियामा धेरै पानी पर्ने गर्छ ।

अब तपाइ हामी यो कल्पना गरौं कि ट्रेन्ड विन्ड कमजोर बन्यो र प्रशान्त महासागर माथि हावा कम बहन थाल्यो भने के हुन्छ ?पक्कै पनि अपवेलिङ कमजोर बन्छ । महासागरको सतहमा रहेको तातो पानी तातै रहन्छ र जुन अष्ट्रेलियातर्फ निरन्तर पानी पर्ने गर्दथ्यो त्यो प्रशान्त महासागरमै कहीँ पनि वर्षा हुन सक्छ । जसले अष्ट्रेलियामा पानी पर्दैन र त्यहाँको क्षेत्र सुख्खा बन्छ । एल निनोले गराउने मख्य घटना नै यही हो । तर यो निरन्तर हुने साइकल भने होइन, एल निनो हालसम्म चार देखि सात वर्षको अन्तरालमा भएको पाइएको छ । जब यो आउँछ आधा वा एक वर्षसम्म चल्छ र यसले विश्वभरको मौसमी चक्र बदलिदिन्छ ।

एल निनो कै कारण अष्ट्रेलिया र दक्षिणपूर्व एसियामा धेरै गर्मी र सुख्खापन हुने गर्छ । साथै हिटवेभको जोखिम पनि बढ्छ ।
तपाईंलाई यदी २०२० मा अष्ट्रेलियाको जङ्गलभर लागेको डढेलो र त्यसले पुर्याएको क्षतीबारे जानकारी छ भने यो बुझ्नुहोस् कि त्यसमा एल निनो एक प्रमुख कारण थियो । किनकि २०१९ को डिसेम्बरमा अष्ट्रेलियाको झाडीहरुमा आगो लागेका थिए, त्यसपछि जंगलभर रोक्नै नसक्ने गरी फैलियो । एल निनो पछिल्लो समय जनवरी २०२० सम्म चलेको थियो । त्यसपछि जनवरी २०२३ देखि अर्को एल निनो चलिरहेको छ । एल निनो जस्तै यसको उल्टो प्रकृया ला निनो पनि छ

ला निनोले के गर्छ ?
ला निनो भनेको स्पेनिस भाषामा सानी केटी हो । माथि एल निनोको बारेमा प्रशान्त महासागरमा हुने सामान्य अवस्थाको जुन चर्चा गरिएको छ, त्यो अत्यन्त गहिरो अवस्थामा पुग्यो भने ला निनोको असर देखिन्छ । मतलब, जुन प्रशान्त महासागर क्षेत्रको सतहमा बनेको तातो हावा हुन्छ यो परिस्थिति भूमध्यरेखीय प्रशान्त महासागर क्षेत्रको सतहमा निम्न हावाको दबाबले पैदा हुने गर्छ । ट्रेन्ड–विन्ड, पूर्वदेखि वहने हावा निकै तीव्र गतिमा बग्दा समुद्री सतहको तापक्रम घट्न थाल्छ । यो घट्दो तापक्रमलाई नै ला निनो भनिन्छ। यो अवस्था उत्पन्न हुँदा संसारभरकै तापक्रममा असर पर्न जान्छ । जसकारण ला निनो आएको वर्ष तापक्रम औसतभन्दा धेरै चिसिन्छ । ला निनोका वेला पूर्वदेखि पश्चिमी वायु बलियो हुन्छ जसले तातो पानीलाई थप पश्चिमतिर धकेलिदिन्छ ।

ट्रेन्ड विन्ड अष्ट्रेलीयातर्फ तीब्र गतिमा वहँदा समुन्द्र सहतमुनिको चिसो पानी भने दक्षिणी अमेरिकातर्फ झन् धेरै जान्छ । चाखलाग्दो कुरा के छ भने एल निनोको प्रभाव एशिया र अष्ट्रेलियामा जुन पर्छ त्यसको उल्टो असर साउथ अमेरिकामा पर्छ । अर्थात् साउथ अमेरिकामा धेरै वर्षा गराउँछ । पछिल्लो समय ब्राजिलमा अत्यधिक वर्षा हुनुको पछाडि पनि यही कारण हो । ला निनो एल निनो भन्दा लामो समय अर्थात् एक देखि चार वर्षसम्म चल्ने सम्भावना हुन्छ ।
जस्तो : २०१८–१९ को एल निनोपछि २०२०–२१ मा ला निनो आयो । त्यो यति चरम थियो कि अष्ट्रेलियामा मार्चमा अत्यधिक वर्षाको कारण बाढी आएको थियो ।

ला निनोको मौसमा असर
यसको असर विश्वभरमा आउने साइक्लोनमा पर्छ। वैज्ञानिकहरुले यस वर्ष जुलाई देखि अगस्टको बीचमा ला निनो आउन सक्ने बताएका छन् । यसले भारतमा हालको मनसुनलाई २०२३ को भन्दा राम्रो बनाउन सक्छ । किनभने अघिल्लो वर्षको मनसुनमा भारतमा एल निनोको कारण औषतभन्दा धेरै वर्षा भएको थिएन । र यही एल निनो २०२३–२४ मा अधिक गर्मीको कारण बनेको छ । जसले भारतमा मात्र होइन दक्षिणी अफ्रिकी देशहरुमा धेरै खडेरी रसुख्खापन देखियो । यहाँसम्म कि दुवैमा हालै भएको भारी वर्षा र बाढीको पछाडी पनि बिबीसीले एल निनोलाई केही हदसम्म कारण मानेको छ ।

यस्तै, वैज्ञानिकहरुले मानवद्वारा गरेको जलवायु परिवर्तनले एल निनोको प्रभावलाई अझ चरम बनाउँदै लगेको ठानेका छन् । अर्थात् बढी, हिट वेव (तातो लहर) झन् झन् खतरनाक बन्दै गइरहेका छन् । यही कारण (एल निनो चलेको कारण) केरलामा आजसम्म २०१६ अप्रिल र २०२४ मे मा दुई पटक तातो लहरको चेतावनी दिइएको थियो । भारतीय मौसम विज्ञान विभागले कुनै ठाउँको तापक्रम मैदानमा ४० डिग्री सेल्सियस, तटीय क्षेत्रमा ३७ डिग्री सेल्सियस र पहाडमा ३० डिग्री सेल्सियस भयो भने तातो लहको घोषणा गर्ने गर्छ । जब तापक्रम ४५ डिग्री सेल्सियस नाघ्छ, मौसम विभागले तुरुन्तै गर्मीको लहर घोषणा गर्दछ। भारतका राज्यहरुमा सबै ठाउँमा सोही तापक्रम उपयोगी भने मानिँदैन ।

किनभने, मे महिनामा दिल्लीमा ४५ डिग्री गर्मी सहन सहज हुन्छ, तुलनात्मक रूपमा मुम्बईको ३८ डिग्री सेल्सियस तापक्रम भन्दा । किनभने मुम्बईको तापक्रम डिग्रीमा कम भएपनि त्यसमा आर्द्रता बढी हुन्छ र त्यो व्यक्तिका लागि दिल्लीको तुलनामा बढी असह्य हुन्छ । हावामा जति धेरै आद्रता हुन्छ त्यति नै तापक्रम सहन मुस्किल हुँदै जान्छ । वास्तवमा हावाले कति पानी बोक्छर राख्छ भन्ने कुरानै सापेक्षित आद्र्रता हो । चिसो हावाको तुलनामा तातो हावाले ज्यादा पानी बोक्छ । हावामा धेरै आद्र्रता भएपछि मानिसको आफ्नो शरिरलाई चिसो राख्न सक्दैन र तातो लहर चल्दा त्यसले मानिसको ज्यानै पनि जान सक्ने सम्भावना बढ्छ । यही कारण हामीले तापक्रम र सापेक्ष आर्द्रतामाथि विचार पुर्‍याउन जरुरी छ । यी दुवै कुराको मापन हिट इन्डेक्सबाट गर्न सकिन्छ । तापक्रम वृद्धिमा सापेक्ष आद्रताको भूमिका संवेदनशील पनि हुन्छ ।

उदाहरणको लागि : यदि आजको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको छ । त्यसमा ५० प्रतिशत सापेक्ष आर्द्रता मिसिएको छ भने मानिसको शरीरले ४१ डिग्री सेल्सियस तापक्रम पुगेको बराबर तातो महसुस गर्छ । यदि ३५ डिग्री सेल्सियस तापक्रममै ७५ प्रतिशत सापेक्ष आर्द्रता हावामा मिसिएको छ भने त्यो ५५ डिग्री सेल्सियस बराबरको तातो हुन्छ । त्यो भनेको मानिसका लागि निकै खतरनाक हो । यही कारण अप्रिलको अन्तिम साता फिलिपिन्समा आएको हिट वेभका कारण धेरै मानिसहरूमा असर परेको थियो, त्यतिबेला तापक्रम ५३ डिग्री पुगेको थियो । विज्ञहरूले ३२ देखि ४१ डिग्री सेल्सियस हिट इन्डेक्समा बाहिर काम गर्दा समेत इस्ट्रोक हुन सक्ने सम्भावना रहेको बताएका छन् । जुनको अन्त्यतिर वर्षायाम नजिक हुने र हावामा आर्द्रता बढ्ने हुँदा दिल्लीमा पनि गर्मी असहनीय हुने गर्छ ।

ग्लोबल वार्मिङ र एल मिनियो पछि तेस्रो तापक्रम वृद्धिको कारण हो ‘अर्वन हिट आइल्याण्ड इफेक्ट’ अर्थात् यसलाई निश्चित शहरी इलाकामा हुने गर्मीको प्रभाव वा असर भनेर पनि बुझ्न सकिन्छ । तपाईँले तापक्रम डिग्रीमा हेर्दा उतिनै (दुई वा तीन डिग्री) सम्म थपघट भएका बेला कतै कम गर्मी र कतै ज्यादा गर्मी महसुस गर्नुभएकै होला । धेरै ठुला भवनहरू निर्माण गरिएको एरिया होस् वा चार पाँच लेनको हाईवे (यहाँ कोटेश्वर देखि कलंकीसम्मको एरियालाई उदाहरण मान्न सकिन्छ ।) त्यो एरिया धेरै तातो हुने गर्छ । जसलाई अर्वन हिट आइल्याण्ड भनिन्छ ।

जहाँ तुलनात्मक रूपमा रुख बिरुवा धेरै छन् त्यहाँ कम र जहाँ धेरै ठुला सिसाका भवनहरू बनेका छन् त्यहाँ ज्यादा गर्मी हुने गर्छ । भवनमा प्रयोग भएका सिसाको ग्लास, कंक्रिट, सडकमा हालिएको डामरलगायतले सूर्यको किरण लिन्छ (एब्जर्भ) गर्छ । जहाँ धेरै ठुला र टाँसिएका अग्ला भवन निर्माण गरिएका हुन्छन् त्यहाँ हावा राम्रोसँग वारपार हुन सक्दैन । दिनभर अवशोषित गर्मी राती बाहिर निस्किन्छ । दिल्लीमा अर्वन हिट आइल्याण्ड इफेक्टबारे भएको एक अध्ययनले रुख बिरुवा लगाएको एरियामा भन्दा तुलनात्मक रूपमा ठुला र बढी भवन बनेको एरियामा ३ देखि ८ डिग्री सेल्सियस सम्म बढी गर्मी हुने देखाएको थियो । यो अध्ययनको फरकले रुख बिरुवाको महत्वलाई अझ धेरै उजागर गरेको छ ।

यस्तै, हेर्दा सामान्य लाग्छ तर, घरभित्र चलाईने एसीले जति शीतल हामीलाई दिइरहेको हुन्छ उति नै मात्रामा हिट बाहिर फालिरहेको हुन्छ । यसले बाहिरी एरियामा गर्मी बढाइरहेको हुन्छ । एसीलाई बढाउने भन्दा यसको प्रयोगलाई भविष्यमा घटाउँदै लैजानु वातावरणको लागि फाइदाजनक बन्न सक्छ । एसीको अल्टरनेटिभको रूपमा भवन डिजाइन गर्दा देखि नै कम भन्दा कम एसी आवश्यक हुने गरी घरभित्र मज्जाले हावा आउन र जान सक्ने गरी भेन्टिलेसन सिस्टमलाई ध्यान दिएर निर्माण गर्नु एक उपाय हुन सक्छ ।

अर्को भनेको रेडियन्ट कुलिङ सिस्टम प्रयोग गर्न सकिन्छ । यस्तै, घरको छानामा सेतो रंग लगाएर पनि थोरै हदसम्म हामीले गर्मीलाई घटाउन सक्छौं । यो २०१८ को मार्चमा यल विश्वविद्यालयले गरेको एक अध्ययनले सेतो वा हल्का रंगको कलर घरमा पेन्ट गर्दा त्यसले २ देखि ३ डिग्री सेल्सियस सम्म तापक्रम घटाउन मद्दत गर्ने देखाएको थियो । किनभने डार्क कलरले सनलाइटलाई शोष्छ र सेतो रंगले सनलाइटलाई रिफ्लेक्ट गर्छ । यो लोजिक शहरी क्षेत्रमा मात्र नभएर ग्रामिण एरियामा पनि लागू हुन्छ । सेतो रंग लगाउने बाहेक घरको छतमा, घर वरिपरि एरियामा हरियो रुख बिरुवा लगाउनाले पनि वातावरण सँगै तापक्रम वृद्धिलाई शुष्म रूपमा भएपनि कम गर्न सहयोग गर्छ ।

यो सँगै आगामी समयमा हुने हिट वेभको असर सकेसम्म कम गर्न सरकारले शहरी क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोगमा बढवा दिने र शहरी क्षेत्रमै बढी भन्दा बढी बिरुवा रोप्ने नीति लिन जरुरी देखिन्छ । नेपालको सन्दर्भमा पनि सरकारले २०२१–२०५० सम्मको लागि वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाले बनाएको नेपाल न्याप नीतिको कार्यान्वयन पक्ष बलियो र प्रभावकारिता सुनिश्चित गर्नु जरुरी देखिन्छ ।
(भारतीय भ्लगर ध्रुव राठीले हिटवेभ बारे बनाएको भिडियो सामग्रीमा आधारित– समय समीक्षा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?