चेकपोष्ट छलेर गएको जीप मध्यरातमा दुर्घटना, चारको मृत्यु

लोकपथ
33.1k
Shares


सुर्खेत । सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप बिहीबार विहान वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार, बिहीबार बिहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका–३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विक छन् । एक जनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा कालिकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट (चालक) र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामी घाइते भएका छन् । उनीहरुको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र शाहीका अनुसार सो जिप भारतबाट आएकाहरूले रिजर्भ गरेका थिए । दिउँसोको समयमा रातो नम्बर प्लेट भएका गाडीलाई यात्रु बोक्न समितिले बन्देज गरेकाले उक्त जिप राति हिँडेको थियो ।

प्रहरी निरीक्षक शाहीका अनुसार उक्त जीप वीरेन्द्रनगरको कपासे र छेडामा रहेका चेकपोष्ट छलेर गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?