नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य

लोकपथ
497
Shares

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुवै निकायको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । यस समझदारीबाट वहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरो सम्बन्धी उपचारमा थप सहजता हुने उनले बताए ।

सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा।डा। मधु दिक्षित देवकोटाले फाउन्डेसनलाई समझदारी योग्य सम्झेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिँदै यसबाट गुणस्तरीय सेवा, शिक्षा र रिसर्चमा सहयोग पुग्ने बताए ।

उक्त सम्झौता अनुसार अस्पतालको सेवा सुविधा अन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई औषधी र कन्जुमेवल आइटम वाहेक ओपिडी, वेड भर्ना, अप्रेसन लगायतमा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जो कोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको जनाएको छ ।

साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने वहालवाला प्रहरी कर्मचारी र तिनका आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुने पत्रमा उल्लेख छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?