राखेपद्वारा आठ खेलाडी पुरस्कृत

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३ तथा मुवाँथाई र उसुका समान १–१ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६ औं एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत जितेका थिए ।

शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत गरियो । ललितले माल्दिभ्समा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिंजालीले पुरस्कार पाए । गुणराजले थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी प्रोमा गुणराजअघि कुनैपनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए ।
जम्मा ६ लाख ५० हजार नगद पुरस्कार वितरण गरियो । राजपुरा र राममायाले समान ५५–५५ हजार नगद पुरस्कार पाए । बाँकीलाई समान ९०–९० हजार नगद पुरस्कार प्रदान गरियो ।

खेलाडीलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष कोइरालाले पुरस्कृत खेलाडीलाई बधाइ दिदै आगामी दिन अझ बढी सफलता हासिल गर्न शुभकामना दिए ।

उनले नेपाललाई खेलाडीको देश भनेर चिनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नु पर्ने बताए ।
सदस्य–सचिव घिसिङले ऐतिहासिक दिवसका अवसरमा परिषद्ले खेलाडीलाई गरेको बताउदै कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको बेलैमा तयारी सुरु नगरे खेलाडीबाट ठूलो सफलताको अपेक्षा गर्नु न्यायोचित नहुने बताए । उनले ओलम्पिकमा पदक हासिल गर्ने हो भने खेलकुदलाई विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गर्नु पर्नेमा जोड दिदै यो अभियानमा सरोकारवाला सबैको एक स्वर हुन पर्ने आवश्यकता औल्याए ।

महासचिव श्रेष्ठले खेलाडीका लागि सम्मान र पुरस्कारको ठूलो महत्व हुने बताउदै यस्ता सम्मानले खेलाडीमा उर्जा थप्ने विश्वास व्यक्त गरे । खेलाडी छनोट गर्न राखेपले तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई सदस्य रहने गरी तीन सदस्यीय खेलाडी छनोट कार्यदल गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?