छुट्टाछुटै स्थानबाट लागुऔषधसहित चारजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित चारजना पक्राउ परेका छन् ।

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–१ सुन्दरीजलस्थित राष्ट्रिय निकुञ्जको जंगलबाट अवैध लागुऔषध गाँजा करिब १३ किलोग्रामसहित एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय अर्जुन लामा रहेका छन् । प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरी टोलीले लामालाई सोमबार राति पक्राउ गरेको हो ।

यसैगरी सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–२ चतरी बस्ने २४ वर्षीय शेख जाहिद र ३५ वर्षीय मोहम्द समसुदिन रहेका छन् ।

प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ५२४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागुऔषध गाँजा २ किलोग्रामसहित एकजना पक्राउ परेका हुन् । धादिङ निलकण्ठ नगरपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख २९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?