समृद्ध नेपाल निर्माणको सामूहिक प्रयासको प्रतिफल गणतन्त्र : प्रधानमन्त्री

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा उनले सामूहिक प्रयास र सहकार्यले नै राजनीति व्यवस्था परिवर्तन गर्न सकिएको र सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको बताए ।

उनले भने, ‘गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै। यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकारी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो । हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत् राजनीतिक व्यवस्था परिवर्तन गर्यौं र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौं ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै राजनीतिक रूपमा क्रान्तिको एउटा अध्याय पूरा भएपनि तत्कालिन गणतन्त्र स्थापनाको सोच र लक्ष्य पूरा गर्ने अभिभारा अझै बाँकी रहेको बताए ।

उनले व्यवस्था सँगै नागरिकको अवस्था परिवर्तन गर्न नसक्दा गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा देखिएका अस्पष्टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्ने प्रयासहरू भएको उल्लेख गर्दै तयसलाई सफल बनाउन नदिने बताए ।
उनले छिमेकी मुलुकहरू र अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँगको सम्बन्ध सुदृढ भएकाले यसैको फलस्वरूप नेपाल विक्रम सम्वत् २०८३ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सुनिश्चित भएको बताए ।
उनले भने, ‘सम्वत् २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्यसहित विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ ।’

उनले पछिल्लो समयमा देखिएको आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन गरिएको दाबी गर्दै यसको फलस्वरूप अर्थतन्त्रमा सुधार भइरहेको जिकिर गरे ।

गणतन्त्रलाई समृद्धिको मार्गका रूपमा उपयोग गर्न तथा समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि अझ बृहत् स्तरमा राष्ट्रिय एकताको सन्देश दिनुपर्नेमा जोड दिएका उनले सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै लय र तालमा अघि बढ्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?