चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर रामचन्द्र चौधरी र प्रशासकीय अधिकृत भ्रष्टाचारमा दोषी ठहर

लोकपथ
1.8k
Shares

काठमाडाैं । रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन मेयर रामचन्द्र चौधरी र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले सोमबार उनीहरूलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । नगर प्रमुख चौधरीसँगै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र निर्माण व्यवसायी रामविनोद राउत वरैलाई पनि दोषी ठहर गरिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय टेक नारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही ४ वर्ष कैद र जरिवाना समेतको फैसला सुनाएको हो ।

चन्द्रपुर नगरपालिकाको कार्यालयले उक्त नगरपालिकामा पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन र विक्री गर्न आशिक कन्स्ट्रक्सनलाई ठेक्का दिएको दियो । उक्त नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा चाँदी नदीको नदीजन्य पदार्थ विक्री–मरधर ठेक्का आशिक कन्स्ट्रक्सन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत समेत नलिई मिलेमतोमा ठेक्का दिइएको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

यसरी नगद तथा बैंक जमानत र मूल्य अभिवृद्धि करसमेत नलिई ठेक्का दिँदा १७ लाख ६८ हजार रुपैयाँ बराबरको कम राजश्व संकलन गरी राज्यलाई हानी नोक्सानी पुराएको अभियोग थियो ।

साथै ठेक्का दिँदा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरिएको र त्यसबापत राज्यलाई ३७ लाख ३४ हजार १९८ रुपैयाँ हानी पुराएको आरोप थियो ।
कुल ५५ लाख २ हजार १९८ रुपैयाँ राज्यलाई हानी पुराएको भन्दै उनीहरूलाई कैद र जरिवाना समेतको फैसला गर्न मागदावी लिइएको थियो ।

अख्तियारले विशेष २०८० कात्तिक १६ गते मुद्दा दायर गर्दा तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीसँग राजस्व छली भएको ३७ लाख ३४ हजार १९८ रुपैयाँ र त्यसको दोब्बर जरिवाना तथा कैद सजाय समेतको माग गरेको थियो । विशेष अदालतले माग बमोजिम नै ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना र ४ वर्ष कैदको फैसला सुनाएको छ ।

त्यसैगरी चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत किर्तिराज सुवेदीसँग जनही ५५ लाख ०२ हजार १९८ रुपैयाँ बिगो कायम गर्दै त्यसको दोब्बर जरिवाना र कैद सजायको मागदावी लिइएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीलाई दोषी ठहर गरिएको छ । उनले २८ लाख २२ हजार ५ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै दुई जना भएर भ्रष्टाचार गरेको कारण ठहर भएको रकमको दोब्बर जरिवानामा दामासायीले हुने २८ लाख २२ हजार ५ रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ । उनलाई पनि ४ वर्ष नै कैद सजाय सुनाइएको छ । लेखा अधिृकत कृतिराज सुवेदीलाई भने सफाइ दिएको छ ।

मिलेमतोमा ठेक्का पारी राज्यलाई हानी नोक्सानी पुराई व्यक्तिविशेषलाई फाइदा पुग्ने गरी काम गर्ने आशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत वरैलाई पहिलो मुद्दामा ३७ लाख ३४ हजार १९८ रुपैयाँ र अर्को मुद्दामा २८ लाख २२ हजार ५ रुपैयाँ गरी कुल ६५ लाख ५६ जार २०३ रुपैयाँ जरिवाना र ४ वर्ष कैदको फैसला सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?