गृहमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

लोकपथ
763
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्दा प्रभाव पार्ने भन्दै उनलाई पदमुक्त गर्न माग गरिएको हो । अधिवक्ता अनुपम भट्टराई र कानुनका विद्यार्थी अतुल विष्टले दायर गरेको रिट इजलासको आदेशबाट दर्ता भएको हो ।

रिट निवेदनमा महान्यायाधिवक्ताले लामिछानेलाई दिएको पत्रसमेत बदर गर्न माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा गृहमन्त्री लामिछानेविरुद्ध जाहेरी रहेको भएपनि महान्यायाधिवक्ताले लामिछानेविरुद्ध कहीँ कतै उजुरी नरहेको भन्दै पत्र दिएका थिए ।

उक्त पत्रले अन्यौलता सिर्जना गरेको र उजुरी रहँदारहँदै पनि छैन भनी अनुसन्धानलाई प्रभावित बनाएको भन्दै महान्यायाधिवक्ताको पत्र उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

त्यसबाहेक सहकारी ठगी प्रकरणमा उनको संलग्नताको आरोप लागेकाले उक्त छानबिन नसकिएसम्म निलम्बनमा राख्न माग गर्दै रिट निवेदन दर्ता गरिएको हो । रिट निवेदनमाथि बुधबार एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?