सहकारी पीडितहरुको रिले अनशन जारी, देशभर आन्दोलन चर्काउने

लोकपथ
119
Shares

काठमाडौं । सरकारले सहमती कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौंथो दिन पनि रिले अनशन जारी राखेको छ ।

गत शक्रबारदेखि काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको आन्दोलन मंगलबार चौथो दिन पनि जारी छ । आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरूले रिले अनशन जारी राखेका हुन् ।

सरकारले सम्झौता सहमती कार्यान्वयन नगरेको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेसँगै काठमाडौं उपत्यकासहित चितवनमा पनि आन्दोलन सुरु भएको हो ।

आन्दोलनमा विशेषगरी तीनवटा सहकारीबाट पीडित रामप्रसाद राजभण्डारीले सरकारले सम्झौता गर्ने तर कार्यान्वयन नगरेर पीडितहरुमाथि अन्याय गरेको बताए । आन्दोलन गरेको चार महिना भइसक्दा पनि सरकारले बेवास्ता गरेका कारण तेस्रो चरणको आन्दोलन गर्न आफूहरु बाध्य भएको बताए ।

उनले भने, ‘आन्दोलन त गर्नैपर्ने भयो । मानिसहरुले खानै नपाउने अवस्था सृजना भयो । सहकारीमा दुई पैसा ब्याज बढी आउँछ भनेर पैसा राखियो । तीनवटा सहकारीमा मेरो पैसा छ । सिभिल सहकारी, लाली गुराँस र स्टा सेभिङमा थियो । तीनवटामा नै मेरो पैसा डुब्यो । सरकारले न्याय दिएन । सुन्नुपर्ने त सरकारले हो नि । आन्दोलनमा आएको पनि करिब चार महिना भइसक्यो । तर हाम्रो मागलाई सरकारले वास्ता गरेन त्यसैले आन्दोलनमा आउन बाध्य छौं ।’

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब देशैभर सशक्त रूपमा आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?