‘पुजार सार्की’ जापानमा रुचाइयो

लोकपथ
7
Shares
PUJAR SARKI JAPAN SHOW – 1

काठमाडौं । गत बिहीबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ । जापानको शोमा एकसाथ १ हजार ५ सय दर्शकले चलचित्र हेरेको आयोजकले दाबी गरेको छ । उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए ।

नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक अभिनेता शाहले यो चलचित्र हेरे । नेपालमा रिलिज भएको समयमा अर्को चलचित्रको छायाकन व्यस्त रहेको र छोटो समयको लागि काठमाडौं रहेकाले उनले ‘पुजार सार्की’ हेर्न नपाएको बताएका छन् ।

अहिले सामाजिक सञ्जालहरूमा शो को भिडियो र फोटोहरू भाइरल भइरहेका छन् । भिडियो र फोटोमा दर्शकको ठूलो भीड र क्रेज देखिएको छ ।चलचित्रका जापान शो का आयोजक मध्येका एक पत्रकार सचिन आचार्यले ‘आउट अफ कन्ट्रोल’ भीडका साथ चलचित्र चलाइएको बताए ।

‘हामीले भीड थाम्नै नसक्ने अवस्था थियो। व्यवस्थापन मिलाउन खोज्दा भिड ‘आउट अफ कन्ट्रोल’ भयो । यो चलचित्र र अभिनेता पल शाहको क्रेज देखेर हामी छक्क परेका छौं ।’

उनले थपे, ‘तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज गर्दा पनि लगभग यस्तै भएको थियो, तर अहिले जस्तो भने कहिल्यै भएको थिएन। हलको सिट संख्या १२ सय जनाको हो, तर १५ सयजना भन्दा धेरै भएपछि उभिएर र भुइँमै बसेर ‘पुजार सार्की’ हेरे । हल व्यवस्थापनले राख्न नमान्दा पनि दर्शकहरू हलबाट निस्किन नमानेपछि १५ सयले नै हेरे ।’

मुख्य आयोजक खिमराज शाहले जापानमा ‘पुजार सार्की’ले इतिहास कायम गरेको बताए । उनी भन्छन्, ‘यहाँ यो चलचित्रको ऐतिहासिक शो सम्पन्न भयो । उत्कृष्ट प्रतिक्रिया पनि पायौं ।’बिहीबार रिलिज भएदेखि नै ‘पुजार सार्की’ले ब्लकबस्टर व्यापार गरिरहेको छ । पलले रिलिजको पहिलो दिन बिहीबार मध्यान्हदेखि काठमाडौंका विभिन्न हल भिजिट गरेर जापान तर्फ लागेका थिए।

दिनेश राउतले निर्देशन गरेको यो चलचित्रमा पलसहित आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा सुबास भुसालले निर्माण गरेको ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट हो भने नेपाल वितरक आरआर फिल्मस हो। आज ‘पुजार सार्की’ रिलिजको पाँचौँ दिन सोमबार पनि काठमाडौं र काठमाडौं बाहिरका हलमा शो भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?