जनस्वास्थ्य नीतिमा हरिवनको प्रयास

लोकपथ
78
Shares

काठमाडौं । हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रूपमा सम्मानित भएको छ । नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रूपमा सम्मानित हो ।

नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौंमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ । भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख बुढाथोकीले बताए ।

पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपालिकाको बिच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानी दृष्टिले अनुकूल नै मानिन्छ । हरिवन नगरपालिको जनसङ्ख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्याङ्क छ । नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै मतदाताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव सङ्कलन गर्दैआएको छ ।

सोही क्रममा नगरपालिकाले चिकित्सक, महिला स्वयंसेविका, महिला सङ्गठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्गठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरेको छ । पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पुर्‍याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी नीति नगर परिषद्बाट पारित गरी लागू गर्ने योजना बनाएको छ ।

मुलुकमा सङ्घीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र विषयवस्तु समेटिन सक्छ भन्ने पालिका प्रमुखको ध्येय छ । हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरू समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ । नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पुर्‍याइरहेका छन् ।

आफ्नो जन्मथलो र कर्म थलो सम्झिएर उहाँहरूले सामान्य सहयोगले पनि हरिवनको विकास र सामाजिक परिवर्तनमा ठुलो फड्को हुने नगर प्रमुख बुढाथोकी बताउँछन् । राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई पूर्ण कार्यान्वयन गर्न पालिकाले समयमै खरिद गरी ती सबै थरी औषधिको पर्याप्त जोह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?