‘बाटो : रोड टु डेथ’ ट्रेलरमा थ्रिलर र सस्पेन्स

लोकपथ
364
Shares

काठमाडौं । नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौं फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा मदन थापाको लेखन र निर्देशन छ ।

२ मिनेट ३४ सेकेण्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई देखाइएको छ । एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ ।

यसबाहेक ट्रेलरमा जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित बनाएर दुःख दिइरहेका छन् भन्ने दृश्य देखाइएको छ ।

यही जेठ ३२ गते प्रदर्शनमा आउने फिल्मलाई सेन्सर बोर्डले फिल्मको विषयवस्तु अनुसार १६ वर्ष उमेरभन्दा माथिका दर्शकले मात्र हेर्ने गरी सर्टिफिकेट दिएको छ ।

भारतको चेन्नईमा प्राविधिक कार्य भएको फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ ।

चन्दन झा निर्माता रहेको फिल्ममा शरण ऋषिको छायांकन, एनबी महर्जनको द्वन्द्व छ । फिल्मको लाइन प्रोड्युसर प्रकाश हमाल हुन् । डब्बी एटमस साउण्डमा तयार पारिएको फिल्म काठमाडौं र गाईघाटमा छायांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?