परिवर्तन अभियान नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । परिवर्तन अभियान नेपालको आयोजनामा संघीय गणतन्त्रात्मक शासन व्यवस्थास विगत र वर्तमानको समीक्षा : आगामी कार्यभार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले संसदमा कांग्रेसले उठाएको सहकारीको एजेण्डामा पेलेर जान खोजे कांग्रेस सहेर नबस्ने चेतावनी दिएका छन् ।

उनले कांग्रेस आफ्नो मागमा नडगमगाउने भन्दै सरकारले प्रतिपक्षको आवाज नसुने जस्तोसुकै चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको टिप्पणी गरे ।

उनले भने, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । जुन मैले सांकेतिक रुपमा भनेको छु, संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिध्दियो, सरकारले जनहितमा काम गरेन सरकार सिध्दियो ।’ उनले भने, ‘म दाबाको साथ भन्छु, प्रतिपक्षमा कांग्रेस मात्रै नभएर अन्य पार्टीले पनि साथ दिएका छन् । प्रतिपक्षले संसदमा जनताको आवाज बुलन्द गरेको छ । यसलाई सरकारले छिटै गम्भीरतापूर्वक लिन ढिलाई गरेको छ । सरकार यसमा पेलेरै जान खोज्छ भने हामी त्यो चुनौतीको सामना गर्न तयार छौ ।’

सरकारले सहकारी प्रकरणमा पेलेर जान खोजे कांग्रेसले नसहने भन्दै कडा रुपमा नेता सिटैलाले भने, ‘सरकार यही ढंगले जाने सोचमा छ भने कांग्रेस त्यसको लागी तयार छ । कांग्रेस सहेर बस्न सक्दैन । हामीले आफूमाथि अन्याय भएर होइन जनतामाथि अन्याय भएर कुरा उठाएको हो ।’

कांग्रेसको राष्ट्र निर्माणमा सबैलाई साथ लिएर हिँड्ने कल्चर भएको उल्लेख गर्दै नयाँ पुरानालाई लिएर कांग्रेस देश हाँक्न सक्षम भएको सिटौलाले धारणा राखे ।

यस्तै नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनु व्यवस्थाको बरखिलाफ भएको बताएकी छन् ।

उनले भनिन्, ‘प्रणालीगत हिसाबले स्थायित्व खोज्दै गर्दा पनि दुई वर्ष नपुग्दै सरकार र प्रधानमन्त्रीले करिब पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्था आउँछ भने संविधानमा दुई वर्षसम्म सरकारलाई अविश्वासको प्रस्ताव लिन नपाउने भनेर बन्देज गरिदिएको व्यवस्थाको बरखिलाफ भएको छ ।’

सहकारी सहकार्यमा सामुहिक लगानी गर्ने प्रणाली भएको भन्दै कसैले जनताको बचत अपचलन गर्छ भने त्यो आर्थिक अपराध भएको बताइन् ।

उनले भने, ‘हामीले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा मान्यौं । सहकारीमा सहकार्य गर्ने सदस्यहरुको पुँजी निर्माण गर्ने, पुँजीलाई जम्मा गर्ने, सामूहिक लगानी गर्ने प्रणाली हो । र सहकारी सुशासनमा आधारित हुन्छ । जुन मान्छे सहकारीको सदस्य छैन, किर्ते गरेर १० वा हजार कित्ता सेयर ल्याएर जनताको बचत अपचलन गर्छ भने यो आर्थिक अपराध हो ।’

वर्तमान देशमा उठाएको राजस्वभन्दा खर्च गर्ने भार ठूलो भएको भन्दै गुणात्मक परिवर्तनको लागि प्रत्येक मानिसले राज्य निर्माणमा योगदान गर्नुपर्ने बताइन् ।

गणतन्त्रात्मक मुलुक हुनुभन्दा अगाडि मुलुक के थियो, समाज के थियो भन्ने थाहा नभएको मान्छेका लागि गणतन्त्र पछि के आयो भन्ने थाहा नहुने उल्लेख गरिन् । प्रजातन्त्रभन्दा अगाडिको समाज नदेखेकाहरुलाई यसको अन्तर पनि थाहा नहुने भन्दै हाल हामीले लडेर ल्याएको गणतन्त्रको महत्व बुझ्न आग्रह गरिन ।

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले शीर्ष नेतृत्वको झगडाको बीचमा पछिल्लो पुस्ताका नेताहरु पिल्सिएको बताएका छन् । उनले समयमै सक्ने जति काम पनि गर्न नसकिएको स्पष्ट पारेका छन् । उनले अहिलेको व्यवस्था कुनै खतरामा नरहेको तर नेताहरुकै कारण आलोचित बनेको बताए ।

उनले भने, ‘संघीय गणतन्त्र खतरामा होइन आलोचनामा छ र खतरामा आउँदैन । मलाई विश्वास छ । यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीले लडेर ल्याएको गणतन्त्र दुइ चारजना आलोचना गर्ने मानिसहरु सडकमा आउँदैमा खतरामा आउँदैन ।’

पौडेलले व्यवस्थाप्रति आलोचना गरेर अस्थिरता सिर्जना गर्न खोज्नेहरुका विरुद्ध अवस्था आए एमाले, माओवादी,कांग्रेस एक ठाउँमा उभिने दाबी गरे ।

उनले मञ्चमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलातर्फ संकेत गर्दै एक स्टेप माथिको पुस्ताले गरेको गल्तीको भागीदार आफूहरुले व्यहोर्दै आएको र नेतृत्वलाई सघाउनुपर्ने बाध्यतामा परेको जिकिर गरे ।

‘युवा पुस्ताले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर हामी र कृष्णजी भन्दा एक स्टेप माथिका नेताहरुलाई भन्न जरुरी छ । हामी समर्थन नगरौं गरेर आएको नेतृत्व हुन् । विरोधमात्रै गरेर हिँड्नेहरुले पनि गरिखाएको देखिएको छैन । अब समर्थन गरौं उहाँहरु झगडा गरिरहनु हुन्छ । फेरि कहिलेकाँही मिल्नु पनि हुन्छ । त्यो कारणले समयमै काम हुन सकेन,’ नेता पौडेलले भने ।

उनले प्रवृतिले व्यवस्था खतराको रुपमा भन्दा आलोचनाको रुपमा बढी आएको बुझेको धारणा राखे । उनले व्यवस्थाप्रति खतरा भने नरहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले गणतन्त्रलाई संस्थागत गर्दै जानुपर्ने धारणा राखे । यस्तै अभियानका संयोजक सुशील भट्टले गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा सस्थाका सल्लाहकार सबिन तामाङ ले ब्यबस्था होईन ब्यबहार बदल्न आबस्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?