ह्युस्टन हरिकेन्सविरुद्ध नेपाललाई २७ रनको जित

लोकपथ
3.6k
Shares

काठमाडौं । आइसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । शनिवार भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको अमेरिकन टोली ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भयो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । यसैगरी इमरान खान जुनियर र लाहिरु मिलान्थाले समान १६ रन बनाए ।

नेपालका तीब्र गतिका बलर करण केसीले ३ विकेट लिए । सोमपाल कामी र अभिनाष बोहराले समान २–२ विकेट लिए । कप्तान रोहित पौडेल,सागर ढकालले १–१ विकेट लिए । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे । आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे ।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १–१ विकेट लिए ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । अब नेपालले आइसीसीको वार्मअप म्याच खेल्ने छ । विश्वकप जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा सुरुहुने छ । नेपालले जुन ४ तारिखमा नेदरल्याण्डससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?