देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

लोकपथ
247
Shares

काठमाडौंं । देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । पाँचथर, मकवानपुर, रुपन्देही लगायतका जिल्लामा भएको दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ हेवाखोलास्थित सडकमा ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको बा.१७ च ७९९९ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक बाँके नेपालगन्ज घर भएका ३५ वर्षीय श्याम विकको मृत्यु भएको छ । शुक्रवार भएको सो

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनालाई थप उपचारको लागि झापातर्फ रिफर गरिएको छ ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित सडकमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.७ ख १६७५ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शुक्रवार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ जितगढीस्थित सडकमा प्र.३–०२–००२ प २०३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ ।

शुक्रवार राति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका–४ जनसेवा चोकमा भैरहवादेखि बुटवलतर्फ जाँदै गरेको लु.३१ प १६४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ ।

शुक्रवार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उता, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ मैतास्थित सडकमा लु.४४ प १३१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका–५ गडवा बस्ने २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । शनिवार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल

तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?