‘फर्की फर्की’ लाई दर्शकको राम्रो साथ

लोकपथ
481
Shares

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको संख्या अधिक छ ।

काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन् । निर्माता रोहित अधिकारीका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि फिल्मप्रति दर्शकको उल्लेख्य उपस्थिति छ ।

दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन् ।

निर्देशक गुरुङले दर्शकले फिल्मको कथालाई अधिक मन पराएको बताए । ‘अनमोलको कामबाट दर्शकहरु झन बढी खुशी हुनुहुन्छ । फिल्मको मेकिङसँग क्यानभासलाई पनि उत्तिकै मन पराउनुभएको छ’, उनले भने ।

निर्माता रोहित अधिकारीले पछिल्लो समयमा कथात्मक फिल्मको लहर चलिरहेको बेला त्यसलाई चिर्दै प्रेमकथाको ‘फर्की फर्की’ हेर्न दर्शकको भीड बढेको बताए । ‘बिहीबारदेखि नै हामीलाई दर्शकले राम्रो साथ दिनुभएको छ ।

आज शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शक संख्या उच्च छ । हामीलाई दर्शकको उपस्थितिले नयाँ हौसला दिएको छ’, उनले भने । निर्माता गोविन्द शाहीले फिल्मको बक्सअफिस रिपोर्ट चाँडै सार्वजनिक गरिने बताए ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?