सम्पत्ति शुद्धीकरणको कसुरमा अहिलेसम्मकै ठूलो मुद्दा दर्ताको तयारी

करिब ३३ अर्बको बिगो कायम, को को बन्दैछन् प्रतिवादी ?

लोकपथ
812
Shares

काठमाडौं । शिवशिखर सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्माविरुद्ध करिब ३३ अर्ब रुपैयाँ बिगो कायम गर्दै मुद्दा चलाउने तयारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केदारनाथ शर्मा र उनकी पत्नी गिता शर्माविरुद्ध करिब ३३ अर्ब रुपैयाँ बिगो कायम गर्दै मुद्दा चलाउन प्रतिवेदन तयार पारेको हो ।

विभागले शुक्रबार शर्माविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गर्न रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । विभागले तत्कालीन अध्यक्ष केदारनाथ शर्मा, उनकी पत्नी गिता शर्मा, सबिना न्यौपाने, मन्दिप खवास, तेज बहादुर तामाङ, पुष्कल मल्ल सुशिल बानिया, प्रदिप भट्टराई लगायतसँग् कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २९१ रुपैयाँ बिगो कायम गर्दै मुद्दा चलाउन प्रतिवेदन दिएको हो ।

शर्माले शिवशिखर सहकारी र तुल्सी सहकारीबाट अरबौं रकम अपचलन गरेका थिए । शर्माले शिखर अर्गनाइजेसन, गार्डेन मार्ट, शिवशिखर एग्रो, शिखरदेव एग्रो, गार्डेनमार्ट तुल्सी मोटर पम्प, तुल्सी अनुसन्धान केन्द्र, तुल्सी राइस एण्ड चिउरा उद्योग, नटराज एग्रो, गोरखा टी एण्ड कफी उद्योगका नाममा ऋण निकासा गराई अन्यत्र लगानी गरेका थिए । तर उनले सहकारीबाट लिएको ऋण नतिरी फरार भएपछि सिआइबीको टोलीले शर्मालाई भारतबाट पक्राउ गरी ल्याएको थियो ।

शर्माको सेयरमा मात्रै १ अर्बको लगानी
शिवशिखर सहकारी डुबाएर फरार भएका तत्कालीन अध्यक्ष केदारनाथ शर्माले सहकारीको रकमबाट सेयरमा मात्रै १ अर्बको लगानी गरेको पाइएको छ । शर्माले ४० वटा कम्प्नीमा कुल १ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर लगानी गरेको अनुसन्धानबाट देखिएको छ ।

शर्माले सहकारीबाट पैस लगेर विभिन्न ११ वटा कम्पनीमा सञ्चालक सापटीका नाममा १ अर्ब ४० करोड ६८ देलाख रुपैयाँ लगानी गरेको पाइएको छ ।त्यस्तै शर्माले अग्रिम सेयरका नाममा ८९ करोड ५० लाख रुपैयाँ लगानी गरेको पाइएको छ । शर्माले कुल ३ अर्ब ६० करोड ४८ लाख रुपैयाँ विभिन्न स्थानमा लगानी गरेको भेटिएको छ ।

शर्माका श्रीमती गिता शर्माले विभिन्न ९ वटा कम्पनीमा ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेको पाइएको छ ।सञ्चालक सापटीमार्फत् २ वटा कम्पनीमा २ करोड ४५ लाख लगानी गरेको भेटिएको छ भने अग्रिम सेयरमार्फत् ३८ लाख लगानी गरेको पाइएको छ ।

शर्माले वास्तविकरुपमा नभई कृतिममा कारोबार खडा गरी विभिन्न १३ वटा कम्पनीका नाममा ६ अर्ब १८ करोड ८३ लाख रुपैयाँ ऋण अपचलन गरेको पाइएको छ ।करिब ३३ अर्ब बिगो कायम गर्दै मुद्दा दायर गरिएको भएपनि शर्मा र उनकी श्रीमती गिता शर्माको नाममा कुल ९ अर्ब ५६ करोड २६ लाख रुपैयाँको मात्रै सम्पत्ति पाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत शिवहरी पोखरेलको अनुसन्धान प्रतिवेदनका आधारमा शर्मा परिवार र अन्य मतियारविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गर्ने तयारी गरेको हो । शुक्रबार प्रतिवेदन बुझाएकाले सोमबारसम्म मुद्दा दर्ता हुनसक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?