‘भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक छ’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेको परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्धले मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य साकार बनाउन सकिने बताएका छन् ।

परराष्ट्र मामिला विभागले शुक्रबार आयोजना गरेको ‘बदलिँदो परिवेशमा विदेश नीतिका मुद्दाहरू’ विषयक छलफलमा भट्टराईले भारत र चीनसँग राम्रो सम्बन्ध स्थापित गर्न निरन्तर वार्ता र छलफल हुनुपर्नेमा जोड दिए ।

उनले वार्ता र छलफलबाट नै दुई देशबीचको समस्या समाधान हुने र सम्बन्धमा सुधार आउने भन्दै नेपाल अब आर्थिक कुटनीतिमा केन्द्रीत हुनुपर्ने बताए ।

भट्टराईले देशमा वैदेशिक हस्तक्षेप रोक्न तथा कसैको प्रभाव र दबाबमा नपर्न कहिले कता, कहिले कता झुकाव राख्न नहुने भन्दै वैदेशिक हस्तक्षेपलाई निर्मूल गर्नुपर्नेमा जोड दिए ।

नेपाल र भारतले गठन गरेको प्रवुध्द समूहका सदस्य रहेका भट्टराईले भारतसँगको १९५० को सन्धि असमान र असान्दर्भिक रहेको टिप्पणी गरे ।

चीनसँग बीआरआई कार्यान्वयन गर्नुपर्ने र नेपालले अधिकतम लाभ लिनुपर्ने भन्दै भट्टराईले कसैको प्रभाव र दबाबमा नपरी नेपाल र नेपालीको हितमा काम गर्ने एमालेको नीति रहेको चर्चा गरे ।

विदेश मामिला विभाग प्रमुख डा. अञ्जान शाक्यले सहजीकरण गरेको छलफलमा विभागका अरु सदस्यहरूले बदलिँदो परिवेशमा एमालेको विदेश नीतिका बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?