सन्दीपको भिसा रिजेक्ट प्रकरणमा अमेरिकी दूतावास : ‘कुनै केस विशेषमा टिप्पणी गर्न सक्दैनौँ’

लोकपथ
2.4k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा रिजेक्ट भएको सन्दर्भमा अमेरिकी दूतावासले केही टिप्पणी नगर्ने जनाएको छ ।

दूतावासबाट जारी सन्देशमा भिसासम्बन्धी अभिलेख गोप्य रहने भएकाले त्यस सम्बन्धमा कुनै टिप्पणी नगर्ने जनाएको हो ।

टि–२० विश्वकपमा नेपालको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न अमेरिका जना लागेका सन्दीपलाई दूतावासले गत बुधवार भिसा रिजेक्ट गरिदिएको थियो । व्यक्तिगत रूपमा भिसा माग भई आएको र भिसासम्बन्धी अभिलेख गोप्य रहने भन्दै दूतावासले त्यससम्बन्धी विषयमा टिप्पणी नगर्ने जनाएको हो ।

दूतावासले अमेरिकामा आयोजना हुने टि–२०विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित रहेको पनि बताएको छ । नेपाली टोली अमेरिकी प्रस्थान गर्नुपूर्व टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले खेलाडी तथा अफिसियलसँग भेट गरेकोसमेत जनाएको छ । साथै आगामी खेलका लागि शुभकामना समेत दिएको छ ।

क्रिकेट खेलाडीहरुलाई समयमै भिसा उपलब्ध गराउन काठमाडौंस्थित अमेरिकी दूतावास कन्सुलर पोष्टहरुले काम गरिरहेको बताउँदै ‘उपर्युक्त भिसा वर्ग’का बारेमा बोलेको छ । त्यो भनेको व्यक्तिगत भिसा नभई खेलाडीहरुले प्राप्त गर्ने अफिसियल भिसा रहेको दूतावासले संकेत गरेको छ ।

जारी सन्देशको अन्तिममा सन्दीपको नाम नलिई दूतावासले भनेको छ ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?