अपडेट : गुल्मी माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

गुल्मी, १३ कात्तिक – बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो दुर्घटनामा नौजनाको मृत्यु भएको र आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटेपनि बीचमा यात्रु थपेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा तथा दुईजनाको पाल्पा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन महिला र ६ पुरुषको मृत्यु भएको छ मृत्यु हुनेमध्ये चारजनाको सनाखत भएको छ । सनाखत हुनेमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डेय र चालक भीम घर्ती तथा अर्जै, गुल्मीका लालबहादुर मुखिया रहेका छन् गाडीका चालकको पनि पाल्पा लैजानेक्रममा मृत्यु भएको छ । सनाखतका लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । घाइते हुनेहरुमा एक महिला, पाँच पुरुष र दुईजना बालक रहेको प्रहरीले जनाएको छ गाडीमा सवार चालकसहित १७ जना रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी सडकबाट करिब ३०० मिटरभन्दा बढी तल खसेको थियो गाडीको तीव्रगति र गाडीलाई साइड दिनेक्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपति प्रेमप्रकाश सिग्देलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?