कैलाश सिरोहियालाई ५ दिन थुनामा राख्न अनुमति माग्दै अदालत पुग्यो प्रहरी

लोकपथ
777
Shares

काठामडाैं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न माग गर्दै धनुषा प्रहरी अदालत पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहियालाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने भएको भन्दै प्रहरीले ५ दिनको समय मागेर जिल्ला सरकारी वकिल कार्यालय धनुषामा पत्र पठाएको छ । सोही पत्रको आधारमा जिल्ला सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई पाँच दिन थुनामै राख्नका लागि अदालतमा लेखी पठाएको छ ।

नागरिकता दुरुपयोग गरेको उजुरी परेपछि धनुषा प्रहरीले अनुसन्धानका लागि सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई बुधबार साँझ कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो ।

बुधबार साँझ नै अपराध महाशाखाको प्रहरीले सिरोहियालाई धनुषा लगी धनुषा प्रहरीको जिम्मा लगाएको थियो ।
यतिबेला धनुषा प्रहरीको नियन्त्रणमा रहेका सिरोहियासँग दोहोरो नागरिकता नम्बर र बंशज वा अंगीकृत के कस्तो प्रकृतिको नागरिकता हो भन्ने सम्बन्धमा अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?