सार्वजनिक खरिदको अवरोध खुलेपछि अन्तर्राष्ट्रिय मेलामा नेपाल सहभागी हुने

लोकपथ
28
Shares

काठमाडौं । नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ ।

अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नहँुदा विगत आठ महिना देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा नेपालको सहभागिता हुन सकेको थिएन । कतिपय कार्यक्रममा निजी क्षेत्रका कम्पनीले आफ्नो प्रयासबाटमात्र सहभागिता जनाएका थिए ।

नेपाल पर्यटन बोर्डको अघिल्लो बोर्ड बैठकले रोकिएका अन्तर्राष्ट्रिय मेलामा नेपालको सहभागिता जनाउन पुरानै अभ्यास अनुरुप गर्ने गरि कार्यविधिको गाँठो फुकाएकापछि अहिले नेपालले अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रममा सहभागिता जनाउन थालेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले लामो समयसम्म विदेशमा कार्यक्रम सञ्चालन तथा खरिद सम्बन्धी कार्य विधि पास नगरिदिँदा नेपालले विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन पाएको थिएन ।

नेपाल पर्यटन बोर्डले विदेशमा कार्यक्रम सञ्चालन तथा खरिद सम्बन्धी कार्यविधि पारित गर्न सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६७ को उपदफा (१/घ) तथा सोही दफाको उपदफा ३ बमोजिम नेपाल पर्यटन बोर्ड कार्यक्रम सञ्चालन कार्यविधि २०७४, सार्वजनिक खरिद अनुगमनको कार्यालयको सहमतिको लागि २०७४ माघ २५ गते पहिलो पटक, त्यसपछि २०७४ चैतको ८ गते, २०७८ वैशाख १ गते पुनः परिमार्जिन सहित र २०७८ असार २३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएपनि कार्यविधी पास हुन सकेको थिएन । जबकी यो समयमा मन्त्रालयमा धेरै जना मन्त्री र सचिव परिवर्तन भए तर बार्डलाई चाहिले कार्यविधि आउन सकेन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यविधि पारित नगरिदिँदा विदेशमा आयोजना गर्ने कार्यक्रम नै प्रभावित भएपछि बोर्डको फागुन ५ गतेको कार्यसमिति बैठकले परराष्ट्र मन्त्रालयको समेत सहमितिमा तत्कालका लागि पुरानै अभ्यास अनरुप कार्यक्रम गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले जानकारी दिए ।

बोर्डको पछिल्लो निर्णयसंगै नेपालले दुवई वल्र्ड ट्रेड सेन्टरमा आयोजित अरेवियन ट्राभल मार्केट (एटीएम–२०२४) को ३१ औं संस्करण र ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा सहभागिता जनाएको ऐरले बताए । एटीएम–२०२४ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपालका निजी क्षेत्रका ९ कम्पनीसँगको सहभागिता रहेको थियो । वैशाख २४ देखि २७ सम्म आयोजित अरेबियन ट्राभल मार्केटकमा विश्वभरका १६० भन्दाबढी देशहरूबाट ३ हजार भन्दा सहभागी थिए ।

यस्तै जेठ ३ देखि ५ गतेसम्मचीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआइटीएफ) २०२४, मा नेपाल सहभागी भयो । पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ वटा ट्राभल एजेन्सी तथा होटलको सहभागिता रहेको थियो । कोभिड–१९ महामारीपछि (जीआइटीएफ) मा नेपालको यो पहिलो सहभागिता हो ।

मे महिनामा पोखराका व्यवसायीहरुको अर्को टोली चीनको बेइजिङ्गमा आयोजना हुने सेल्स मिसन, जुनमा होटल एशोसिएसनसँगको सहकार्यमा चीन कै चेन्दु र बेइजिङ्ग तथा थाइल्याण्डमा कार्यक्रम आयोजना हुने छन् । ‘अब नेपालले जुनमा हङ्गकङ्गमा आयोजना हुने आइटीएम, मे महीनामा जर्मनीको बर्लिनमा आयोजना हुने बर्लिन कार्निभल तथा कारियाको सिओलमा नेपाली दुतावासको सहकार्यमा हुने पर्यटन प्रर्वद्धन सम्बन्धि कार्यक्रममा सहभागिता जनाउँदै छ । अन्तर्राष्ट्रिय कार्यक्रम रोकिँदा निजी क्षेत्रमा निराशा छाएको थियो । कतिपय राम्रा राम्रा अन्तर्राष्ट्रिय कार्यक्रमहरु छुटेका थिए । अब विस्तारै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको सहभागिता देखिन थालेको छ’ ऐरले भने ।

दुवई र चीनको सहभागितासँगै अब नेपालले क्रमशः विभिन्न देशमा हुने पर्यटन मेलामा सहभागिता जनाउँदै जाने बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए । बोर्डको यो सँगै विगत आठ महिना देखि ठप्प भएको विदेशका कार्यक्रम सुचारु भएको र यसले नेपालको पर्यटन बजारलाई थपचलायमान बनाउने निर्देशक लामिछानेले बताए । ‘यो सकारात्मक कुरा हो । यो अल्पकालीन समाधान हो । दीगो समाधान आवश्यक छ । त्यसो हँुदा थप काम गर्न थप सहजता हुने छ” लामिछानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?