कांग्रेस संसदीय दलको बैठक जारी

लोकपथ
77
Shares

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक जारी छ । बिहान ९ बजे बैठक बस्ने भनिएपनि भर्खरै बैठक सुरु भएको हो ।
सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन आज संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।
आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।

संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिबारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ ।

आइतबारको सम्बोधनमा गृहमन्त्री लामिछानेले आफू निर्दोष रहेकोमात्रै दाबी नगरेर धम्कीपूर्ण भाषामा कांग्रेस नेताहरुमाथि लाञ्छना लगाएका कारण संसद्मा कांग्रेस अब झन् कडारुपमा प्रस्तुत हुन सक्ने आंकलन समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?