आर्सनललाई धक्का, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

लोकपथ
7
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । प्रिमियर लिगको १३६ वर्षको इतिहासमा सिटीले लगातार चौथो सिजन उपाधि जित्दै नयाँ कीर्तिमान पनि बनाएको छ ।

यो सिजनको अन्तिम खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीले समग्रमा आठौं पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

सिटी ९१ अंकका साथ पहिलो र आर्सनल ८९ अंकसहित दोस्रो स्थानमा छ । सिटीले उपाधि रक्षा गर्ने जित दिलाउँदमा फिल फोडेन दुई तथा रोड्रीले एक गोल गरेका थिए । वेस्टह्यामका मोहमद कुडुसले एक गोल फर्काए ।

सिटीले घरेलु इथिहाड स्टेडियममा दोस्रो मिनेटमै अग्रता लिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै अग्रता दिलाएका हुन् । १८ औं मिनेटमा फोडेनले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले जेर्मी डोकुको पासमा गोल गरेका थिए ।

४२ औं मिनेटमा मोहमद कुडुसले गोल गरेपछि वेस्टह्यामले अग्रता २–१मा झारेको थियो । तर, ५९औं मिनेटमा सिल्भाको पासमा रोड्रीले गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो । ८९औं मिनेटमा थोमस सुसेकले वेस्टह्यामका लागि गरेको गोल भीएआरले मान्यता नदिँदा वेस्टह्यामलाई खेलमा फर्किन कठिन भयो । त्यसपछि ३–१ को नतिजाका साथ सिटीले स्पष्ट ३ अंक लिएपछि उपाधि पनि जित्न सफल भयो ।

आइतबार राति नै भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । आर्सनललाई उपाधि जित्नका लागि सिटी पराजित वा बराबरीले मात्रै सम्भव थियो । तर सिटीले स्पष्ट जित निकालेपछि आर्सनलको २१ वर्षपछि उपाधि जित्ने सपनामा धक्का पुग्यो । गत सिजन पनि आर्सनल दोस्रो स्थानमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?