५ लाख धरौटी बुझाएर रिहा भए गायक रवि ओड

लोकपथ
455
Shares

काठमाडाैं । बैवाहिक बलात्कारको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतमा धरौटी बुझाएपछि ओड बिहीबार साँझ रिहा भएका हुन् ।

ओडविरुद्ध उनकी पत्नीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो जाहेरीपछि फरार रहेका ओडले गत साता मात्रै इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा आत्मसमर्पण गरेका थिए ।

आत्मसमर्पण लगत्तै प्रहरीले ओडको बयान लिएर बिहीबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीका अनुसार अदालतले ओडसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलासले ओडसँग ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले माग गरेको धरौटी बुझाएपछि ओड बिहीबार नै रिहा भएका हुन् ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी पत्नीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

तत्कालीन समयमा उनी सांगितिक कार्यक्रमका लागि विदेशमा रहेकाले नेपाल आएलगत्तै उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?