ब्राह्मण लुक्सका आर्यनले सुनाए ‘पुजार सार्की’को कथा

लोकपथ
224
Shares

काठमाडौं । अभिनेता आर्यन सिग्देलका पिता पण्डित हुन् । बाबु पण्डित भए पनि आर्यनले बाबुको बिँडो समातेनन् । उनी अभिनयतिर लागे । भगवान मनमा छन् भन्ने कुरामा विश्वास गर्ने आर्यन धेरै आस्तिक र नास्तिक छैनन् ।

वास्तविक जीवनमा ब्राह्मण चरित्र नदेखाएका आर्यन ‘पुजार’का रुपमा यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’ मा ब्राह्मण लुक्समा देखिँदैछन् ।

‘बुवा पण्डित भए पनि ममा पुजापाठको गुण केही थिएन । म आउट अफ ट्रयाकको मान्छे हुँ । म मनमा भएको भगवान देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु’, आर्यन भन्छन् ।

फिल्ममा आर्यनको ब्राह्मण लुक्स उनकै पिताबाट प्रभावित छ । फिल्मका निर्देशक दिनेश राउत र आर्यन मिल्ने साथी हुन् । कुनै दिन दिनेशले आर्यनको बुवाको एक पुरानो तस्वीर देखेका रहेछन् । फिल्मका लागि पात्रहरुको सेटिङ गर्ने क्रममा दिनेशले आर्यनलाई बुवाको तस्वीर पठाउन भने ।

‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुप-यो । तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन । मेरो बुवाको फोटोसँग मेरो लुक्स ट्राई गर्ने बित्तिकै कुरा फाइनल भयो । तर, क्यारेक्टर मेरा लागि नयाँ भएकाले त्यो चरित्र निभाउन गाहाे भयो’, उनी भन्छन्,‘चरित्र मात्र होइन, कास्कीको कास्कीकोटको भाषा सिक्न र बुझ्न पनि झन गार्हो भएको थियो । यो फिल्म मेरा लागि निकै टफ थियो ।’
फिल्ममा आर्यनले दलित समुदायको प्रतिनिधित्व गर्ने अञ्जना बराइलीसँग प्रेम गर्छन् । ‘एकातिर पुजा पाठ, अर्कोतिर प्रेम । दुवै जिम्मेवारी निभाउन निकै चुनौतीपूर्ण थियो । मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ । त्यस कारण प्रेम गर्दा पनि म त्यति साहाे खुल्न पाउदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन’, पुजार चरित्रबारे आर्यन सुनिए ।

आर्यनका लागि पुजार चरित्र चुनौतीपूर्ण लागेको रहेछ । अहिले शिक्षित समाज भनिए पनि जातीयताको विषयमा समाज अझै पनि पछाडि नै रहेको आर्यनका बुझाई छ । ‘कति घटना अहिले पनि घटिरहेका छन् । कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान् । त्यही परिस्थितिसँग जुधेर फिल्म अगाडि बढेको छ’, उनी भन्छन् ।

नेपाली फिल्ममा ‘लभरब्वाई’को छवि बनाएका आर्यन ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने प्रयासमा छन् । ‘हामीले यो धारको फिल्म र मूलधारको फिल्म पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई फाइदा हुन्छ । राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको फिल्म पनि गर्छु । राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु,’ आर्यन भन्छन् ।

आर्यन अझै पनि फिल्मकर्मीमा आर्यन केवल प्रेमकथाका मात्र फिल्ममा काम गर्न रुचाउँछन् भन्ने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन् । ‘मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो फिल्मले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,’ आर्यनले दाबी गरे ।

आर्यन ‘पुजार सार्की’का विषय सबैले हेर्न आवश्यक रहेको बताउँछन् । ‘३५–४० वर्ष अघि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ । इतिहास बुझ्न ‘पुजार सार्की’ हेर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?