परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’

लोकपथ
0
Shares

काठमाडौं। अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन्। यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन्।

यो चलचित्रमा नेपालका तीन सुपरस्टार कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन्, जसलाई विकास सुबेदीले लेखेका छन् भने दिनेश राउतले निर्देशन गरेका छन्। नेपाल र विदेशमा एकसाथ रिलिज हुने यस चलचित्रमा परीक्षासँगै चलचित्रमा अभिनेत्री अञ्जना बराइलीको पनि अभिनय छ।

परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन्। प्रदीपसँग उनको यो पहिलो सहकार्य हो। ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ। उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ। व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन्।

चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन्। परीक्षालाई चलचित्रका तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो रहेछ। ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो। तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो। उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन्।

‘पुजार सार्की’ चलचित्रमा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ। चलचित्रमा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन्।‘चलचित्रमा म मगर समुदायको प्रतिनिधित्व गर्छु। हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ। त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो हुन्छ। प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो चलचित्रमा क्यारेक्टर भएर महसुस गर्न पाएँ। जुन रियल लाइफमा महसुस गर्न पाएको छैन। त्यो अनुभवका लागि म भाग्यशाली पनि छु।’

परीक्षा पूर्वकी, भाषा पश्चिमको। परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ। ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ। किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु। मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो। म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?