तस्करीको सुन पचाउन आफ्नै अपहरणको नाटक ! कमजोर ‘अभिनय’ले समातिए भरिया

काठमाडौं । सम्पत्ति प्राप्तिका लागि मानिस के के सम्म गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ललितपुरको तथाकथित अपहरण प्रकरण । ५० ग्राम सुन र एउटा आइफोन पचाउनका लागि एक व्यक्तिले आफ्नै अपहरणको नाटक मात्रै गरेनन्, आँफैलाई नाङ्गेझार बनाएर बाँधिए र आँफैमाथि कुटपीटसम्म गरे । तर कमजोर स्क्रिप्ट र अभिनयले उनी आँफै यतिबेला प्रहरीको कष्टडीमा पुगेका छन् ।

घटना हो, ललितपुर गोदावरीको ।

जेठ २ गते बुधबार बिहान ४ः४५ बजे काठमाडौं उपत्यका प्रहरी कार्यालयको कन्ट्रोलरुममा एउटा फोन आयो, ‘गोदावारीको नौधारामा एक व्यक्तिलाई हात खुट्टा बाँधेको अवस्थामा भेटिएको छ ।’

प्रहरी कन्ट्रोलमा फेन आएलगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयले ललितपुर प्रहरी परिसरमा खबर गर्छ । खबरलगत्तै नजिकको प्रहरी घटनास्थलमा पुग्छ । घटनास्थलमा एक व्यक्ति हात, मुख र खुट्टा बाधिएको अवस्थामा फेला पर्छन् र उनलाई तत्काल उपचारका लागि नमस्ते मेट्रो अस्पताल, हाँडेगाँउ लगिन्छ । सामान्य गाला सुन्निएकोबाहेक अन्य चोटपटक नभएको र हल्का बोलिरहेको व्यक्ति भएकाले प्राथमिक उपचार गरिसकेपछि प्रहरीले ‘पीडित’सँग सोधपुछ गर्छ ।

ती व्यक्ति थिए, बतासे ८ लक्ष्मीपुर ईलामका सूर्य बहादुर समाल मगर । उनी मंगलबार बिहान मात्रै कतारबाट काठमाडौं आइपुगेका थिए ।

कतारमा रोजगारी गरेर फर्किएका उनलाई सितापाइला जाँदै गर्दा ट्याक्सी ड्राइभरकै योजनामा बेहोस बनाएर लुटपाट गरिएको प्रारम्भिक सूचना आउँछ । पीडित मगरले प्रहरीलाई जानकारी गराउँदा आफू जेठ १ गते मंगलबार बिहान ९ बजे कतारबाट जहाजमार्फत् नेपाल आएको र एयरपोर्टबाट अपरान्ह अन्दाजी १२ बजे सितापाइलास्थित आफन्तकोमा जान ट्याक्सी चढ्दा ट्याक्सी चालककै मिलेमतोमा अपहरण गरी लुटपाट गरिएको बयान दिन्छन् । बयानका क्रममा मगरले आफूले कतारमा दुख गरी कमाएर ल्याएको करिब २० ग्राम सुन र आइफोन र पैसासमेत लुटिएको बयान दिन्छन् ।

मगरले प्रहरीलाई दिएको बयान अनुसार उनी सितापाइलामा रहेको आफन्तकोमा जाने भनी नम्बर नखुलेको ट्याक्सी चढेर गएको, ट्याक्सीमा जाँदै गर्दा नेपालमा गर्मी बढेको रहेछ है भनी ट्याक्सी ड्राभइभरसँग कुरा गरेको र ट्याक्सी ड्राइभरसँगै रहेका अर्का व्यक्तिले पसिना पुछ्नोस् भनी टिस्यु पेपर दिएको, टिस्यु पेपरले पसिना पुछेपछि आफू बेहोस भएको र अहिले होसमा आएको बताउँछन् । आफूलाई कसले कसरी यहाँ ल्याइपुरायो थाहा नभएको मगरले प्रारम्भिक बयान दिन्छन् ।

वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्ति अपहरणमा परी लुटपाट भएको जानकारी आएलगत्तै प्रहरी प्रधान कार्यालयले समेत चासो राखेर तत्काल अनुसन्धान गरी अपहरणमा संलग्नहरुलाई पक्राउ गर्न निर्देशन दियो । ललितपुर प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले समानान्तररुपमा अनुसन्धान गर्छन् ।


अनि अपहरणकारीको खोजीमा जुट्यो प्रहरी

अपराध महाशाखाको टोली पीडितलाई भेट्न अस्पतालमै पुग्छ । पीडितसँग सामान्य कुरा गरेपछि अपहरण प्रकरणको फेहरिस्त खोज्न सुरुमा त्रिभुवन विमानस्थलको आगमन कक्षको सिसीटीभी फुटेजको अनुसन्धानमा महाशाखाको टोली जुट्छ ।
मगरले भनेझैँ उनी बिहान ९ बजे नेपाल आइपुगेको सिसीटीभीमा देखियो । विमानस्थल आसपास भएको सिसीटीभी फुटेजको अध्ययन गर्दै जाँदा मगर भन्सार विन्दु पास गरी आगमन कक्षबाट बाहिर निस्किएर आन्तरिकतर्फको पार्किङमा पुगेको देखियो ।
त्यहाँबाट उनी बा२ज ३०८२ नम्बरको ट्याक्सीमा चढेर बाहिरिएको सिसीटीभीमा कभर भयो ।

प्रहरीले त्यसपछि उक्त ट्याक्सीको खोजी गर्यो । तत्कालै उक्त ट्याक्सीको डिटेल्स प्राप्त गरी ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लियो ।

अनि ती ट्याक्सी चालकसँग कुराकानी गर्दा पीडित मगरले सुरुमा गौशाला जाने भनी ट्याक्सी चढेको र पछि उनी गौशाला नगई सिनामंगलमा रहेको मनकामना गेष्ट हाउसमा छाडेको बताए । प्रहरीले ट्याक्सी चालकलाई सँगै लिएर मनकामना गेष्ट हाउस पुगेर भेरिफाई गर्दा चालकको कुरा मिल्यो । यद्यपि प्रहरीले चालकलाई नियन्त्रणमा राखिरह्यो ।

मनकामना गेष्ट हाउसमा मगर पुगेपनि त्यहाँ कोठा नपाएपछि उनी त्यहाँबाट निस्किएर त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ गएको सिसीटीभी क्यामेरामा देखियो । आन्तरिक विमानस्थलको सिसीटीभी अध्ययन गर्दा उनी सोही दिन अपरान्ह १ः१० बजेको सौर्य एअरलाइन्सको विमानमार्फत् झापाको भद्रपुर उडेको पाइयो ।

आफू अपहरण र लुटपाटमा परेको भनी दिएको बयानको सिलसिला नमिलेपछि अपराध महाशाखाको प्रहरीले मगरलाई थप केरकार गर्यो । सुरुमा उनले आफू अपहरणमै परेको झुठो दावी गरेपनि अन्य प्रमाणले अनुसन्धान अन्यत्रै मोडिएपछि उनी आफ्नो अपराध र अपहरणको नाटकबारे बोल्न बाध्य भए ।

प्रहरीसामु उनले आफूले आफ्नो अपहरणको नाटक गर्नुको कारण तस्करीको सुन र आइफोन आँफैले राख्नका लागि रहेको बताए । साथै उक्त सुन आफूले झापाको बिर्तामोडस्थित श्रीमतीको डेरामा लगेर राखी मंगलबार साँझको उडानबाट काठमाडौं फर्किएको बताउन बाध्य भए ।

तस्करीको सुन पचाउन अपरान्ह झापा, साँझ काठमाडौंमा
खासमा सूर्य बहादुर समाल मगर कतारमा रोजगारी गरेर फर्किएको भएपनि खासै पैसा कमाउन सकेका थिएनन् । घरमा ऋण बाँकी नै थियो भने कतारमा पनि करिब १ लाख रुपैयाँ मात्रै कमाएका थिए ।

नेपाल फर्कने क्रममा कसैले सानो रकमको प्रलोभन दिएर जिन्सको पाइन्टको मोतामा रहेको सिलाईभित्र ५० ग्राम सुन र आइफोन दिएर पठायो र आफूले भनेको व्यक्तिलाई दिन भन्यो ।

कतारमा मगरले गिरोहले जे जे भने त्यही गरे र आफ्नो साइजको जिन्सको पाइन्ट सिलाएर पाइन्टको मोतामा सुन हालेर ल्याए । तर जब उनी नेपाल आइपुगे, उनको मनमा उक्त सुन पचाउने लालसा जाग्यो । त्यसपछि उनले तस्करीको त्यही सुन र आइफोन पचाउन आफ्नै अपहरणको नाटक रचे ।

आफ्नै योजनामा उनले ट्याक्सी लिएर सुरुमा सिनामंगल गए, त्यहाँबाट सौर्य एअरलाइन्सको टिकट काटेर अपरान्ह १ः१० बजेको उडानमार्फत् झापा पुगे । भद्रपुरबाट उनी बिर्तामोडमा रहेको श्रीमती बस्ने डेरामा पुगे र त्यहाँ लगेज र तस्कर समूहले पठाइएको आइफोन र सुन राखे । अनि म नआई नखोल्नु भन्दै उनी साँझ ६ः५० बजेको उडानबाट काठमाडौं फर्किने योजना बनाएर टिकट काटे । तर झापाबाट विमान करिब ८ बजे मात्रै काठमाडौं उड्यो ।

उनी आन्तरिकतर्फको आगमन कक्षबाट बाहिर निस्किए र कोटेश्वर पुगे । त्यतिबेला साँझको करिब ९ बजेको थियो । त्यसपछि कोटेश्वरबाट गाडी चढेर उनी सातदोबाटो पुगे ।

जेठ १ गते मंगलबार रातको १० बजे उनी सातदोबाटो पुगेको सिसीटीभी फुटेजमा समेत देखिएको छ । त्यहाँबाट उनी हिँड्दै गोदावरीतर्फ लागे ।

अनि रातको समयको गोदावरीमा रहेको सेन्ट जेभियर्स स्कुलको पछाडिपट्टी रहेको नौधारा भन्ने स्थानमा आफ्नै लुगा खोले, पर्स खोले, कागजात निकाले, आँफैले मुख र हातखुट्टामा बाँधे । आफूलाई बाँध्नुभन्दा अगाडि उनले आफ्नै गालामा समेत मुड्कीले हाने ।

अनि रातभर उनी त्यहीँ बसिरहे ।

जब बुधबार बिहान उक्त क्षेत्रमा मानिसहरु मर्निङ वाकमा निस्किए, त्यसपछि मगरलाई हातखुट्टा बाँधिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर आयो । अनि प्रहरीले अनुसन्धान सुरु गर्यो ।

११ घण्टामा प्रहरीले निकाल्यो घटनाको फेहरिस्त
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस घटनाको अनुसन्धान बुधबार बिहान ६ः३० बजेबाट सुरु गरेको थियो । प्रविधिको सहायता लिँदै गरिएको अनुसन्धानमा बुधबार साँझ ५ः३० बजेसम्म अर्थात् ११ घण्टामा घटनाको सबै नालीबेली पत्ता लगायो । प्रहरीले अनुसन्धानकै क्रममा झापाको बिर्तामोडमा रहेको श्रीमतीको डेरामा लुकाइएको तस्करीको सुन तथा आइफोनसमेत बरामद गर्न सफल भयो । त्यसलगत्तै उक्त सामाग्रीलाई काठमाडौं ल्याइएको छ ।


मेटल डिटेक्टर र सशस्त्र प्रहरीले पत्ता लगाएन तस्करीको सुन
सुन तस्करीको गिरोहले मगरलाई भरिया बनाएर पठाएको सुन आँफैले लगाएको पाइन्टको मोताभित्र थियो । उक्त पाइन्ट लगाएरै मगर आगमनकक्षको वाकथ्रु को मेटल डिटेक्टर पार गरेर आएका थिए । मेटल डिटेक्टर रहेको भन्सार विन्दु पार गरेसँगै अहिले त्यहाँ सशस्त्र प्रहरीको राजश्व अनुसन्धान टोली पनि चेकजाँचका लागि खटिएका हुन्छन् । तर मगरले तस्करी गरी ल्याएको करिब ५० ग्राम सुन न भन्सार विन्दुको मेटल डिटेक्टरले डिटेक्ट गर्यो, न सशस्त्र प्रहरीको चेकजाँचमा नै फेला पर्यो । बरु मगर तस्करीको सुन बोकेर खुरुखुरु बाहिर निस्किए र करिब ६ लाख नेपाली रुपैयाँको सुन तस्करी गरी पचाउन खोजे । तर कमजोर स्क्रिप्ट र अभिनयले मगर आँफै फसे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा रहेका मगरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भएको कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले लोकपथलाइ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?