सन्दीपलाई सफाइ, टी–२० वर्ल्डकप खेल्ने बाटो खुल्यो

लोकपथ
1.2k
Shares


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कारको कसुरबाट सफाइ दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिने फैसला गरेको हो ।

अदालतले सन्दीपलाई अभियोगबाट सफाई दिएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले लोकपथलाई बताए ।

मंगलबारदेखि निरन्तर सुनुवाइ गरी अदालतले बुधबार आफ्नो फैसला सुनाउँदै सन्दीपलाई सफाइ दिएको हो । सन्दीपलाई दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले बलात्कारको कसुरबाट सफाइ दिएको हो ।

जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट गत पुष १३ गते सन्दीप दोषी ठहर भएका थिए । अभियोगपत्रमा पीडित नाबालिग रहेको कारण १२ देखि १४ वर्षसम्मको कैद सजायको माग गरिएको भएपनि जिल्ला अदालतले पीडित वारदातको समयमा वालिग रहेको फैसला सुनाएको थियो । वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको जिल्ला अदालतको फैसलामा उल्लेख थियो ।

परिवर्तित नाम गौशाला–२६ ले २०७९ भदौ ५ गते राति सन्दीपले आफूमाथि गौशालाको एक होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । किशोरीको परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गरी २०७९ कात्तिकमा मुद्दा चलाएको थियो ।

काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्ने फैसला सुनाएपछि सन्दीप पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका थिए । वादी नेपाल सरकार पनि पीडित नाबालिग नै रहेको जिकिर गर्दै उच्च अदालत पुगेको थियो ।

मंगलबारबाट सुरु भएको बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता प्रकाश घिमिरे र सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले बहस गरेका थिए ।

त्यसपछि पुनरावेदक प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण कुमार श्रेष्ठ, कृष्णप्रसाद सापकोटा र रामनारायण विडारी तथा अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पोडेलले बहस गरेका थिए ।

पुनरावेदक प्रतिवादीको तर्फबाट बहस सकेलगत्तै पुनः सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता घिमिरे र सहायक न्यायाधिवक्ता महर्जनको तर्फबाट जवाफी बहस भएको थियो ।

सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएपछि वादी पीडित गौशाला–२६ को तर्फबाट उपस्थित भएका कानुन व्यवसायीले बहस सुरु गरेपनि मंगलबार बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार गौशाला–२६ को तर्फबाट नारायण चोलागाई, आश्मा सुवेदी र शान्ति रिसाल काफ्लेले बहस गरेका छन् ।

गौशाला –२६ को तर्फबाट बुधबार वरिष्ठ अधिवक्ताहरु शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता मोहना अन्सारीले बहस गरेका थिए । त्यसपछि प्रतिवादी पुनरावेदक सन्दीप लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सबिता भण्डारी र अधिवक्ता सरोजकृष्ण घिमिरेले जवाफी बहस गरेका थिए ।

बहसपछि न्यायाधीशले सन्दीप र पीडित पुगेको गौशालास्थित होटलको सिसिटीभी फुटेजसमेत हेरेका थिए ।

सम्पूर्ण तथ्य र प्रमाणको विश्लेषण गर्दै अदालतले लामिछानेलाई सफाइ दिएको हो । लामिछानेलाई बलात्कारको कसुरबाट सफाई भएसँगै उनले अब टी–२० वर्ल्डकप खेल्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?