एउटा झुलले खुसी ल्यायो दलित बस्तीकी दुखीलाई

लोकपथ
0
Shares

सिराहा । लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् ।

चरम गरिबीमा रहेकी लहान नगरपालिका–१५ की दुखी सदाय मङ्गलबार एकाएक हर्षित भइन्– कारण थियो नगरपालिकाले उनलाई निःशुल्क प्रदान गरेको झुल । “बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर, दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छु । एकदिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ”, आफ्नो दुःख बिसाउँदै उनले भनिन् ।

सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि हर्ष प्रकट गर्दै भनिन्, “हामी गरिबका लागि पनि सरकार रहेछ । मेयरसा’बलाई धेरै धन्यवाद ।” गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट नगरवासीलाई जोगाउन ललितदेवी, दुखी सदायजस्तै यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई झुल वितरण अभियान नगरपालिकाले सुरु गरेको छ । मङ्गलबार वडा नं १५ ढोढ्नाबाट दुई सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

‘एक घर, एक झुल’ अभियान सञ्चालन गरी नगरपालिकाभित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू लागिपरेको नगरप्रमुख चौधरीले बताए । “गर्मी र वर्षातको मौसम सुरु भएपछि लामखुट्टेको प्रभाव बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन नगरपालिकाको तर्फबाट झुल वितरण गरेका हौँ”, उनले भने, “एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।”

नगरप्रमुख चौधरीका अनुसार नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ ।वडा सदस्य तथा नगरपालिका न्यायिक समितिको सदस्य रामकुमारी दासले झुल वितरण अभियानले दलित समुदायका बालबच्चा तथा महिलालाई सुरक्षित राख्न मद्दत पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?