सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, आजै फैसला आउने

लोकपथ
112
Shares

मदन ढुङ्गाना/काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर मुद्दाको पुनरावेदनको सुनुवाइ आज पनि निरन्तर हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारबाट निरन्तर सुनुवाइ भइरहेको छ ।

मंगलबार सुरुमा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता प्रकाश घिमिरे र सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले बहस गरेका थिए ।

त्यसपछि पुनरावेदक प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण कुमार श्रेष्ठ, कृष्णप्रसाद सापकोटा र रामनारायण विडारी तथा अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पोडेलले बहस गरेका थिए ।

पुनरावेदक प्रतिवादीको तर्फबाट बहस सकेलगत्तै पुनः सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता घिमिरे र सहायक न्यायाधिवक्ता महर्जनको तर्फबाट जवाफी बहस भएको थियो ।

सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएपछि वादी पीडित गौशाला–२६ को तर्फबाट उपस्थित भएका कानुन व्यवसायीले बहस सुरु गरेपनि मंगलबार बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार गौशाला–२६ को तर्फबाट नारायण चोलागाई, आश्मा सुवेदी र शान्ति रिसाल काफ्लेले बहस गरेका छन् ।

गौशाला –२६ को तर्फबाट बुधबार वरिष्ठ अधिवक्ताहरु शशी अधिकारी र सुनिता रेग्मी तथा अधिवक्ता मोहना अन्सारीले बहस गर्ने तयारी भएको छ । त्यसपछि प्रतिवादी पुनरावेदक सन्दीप लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सबिता भण्डारी र अधिवक्ता सरोजकृष्ण घिमिरेले जवाफी बहस गर्ने गरी तयारी गरिएको छ ।

लामिछानेका वकिललाई समय निर्धारण, पीडितको वकिललाई पूरा समय !
मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले सोही दिन बहस सकेर फैसला सुनाउने भन्दै लामिछानेका कानुन व्यवसायीका लागि छोटो समय मात्रै दिएर बहस टुङ्ग्याउन भनेका थिए ।

सोही अनुसार लामिछानेका कानुन व्यवसायीले आधा समयमै आफ्नो बहस सक्नुपरेको एक कानुन व्यवसायीले बताए । तर पीडित गौशाला–२६ को तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई भने समयको पावन्दी नलगाइकाले मंगलबार बहस नसकिएर बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

एक कानुन व्यवसायीका अनुसार वादी नेपाल सरकारका तर्फबाट बहस गर्ने सरकारी वकिल तथा पीडितको तर्फबाट बहस गर्ने कानुन व्यवसायीले पीडितको उमेर १८ वर्षभन्दा कम नै रहेको जिकिर गरेका छन् ।

यता सन्दीपपक्षका कानुन व्यवसायीले भने पीडित भनिएकी किशोरीको उमेर तत्कालीन समयमा १८ वर्ष पुगिसकेको, जबरजस्ती करणी नभएको र कुनै अनुचित प्रभावमा नपारिएको विषयलाई नै मुख्य जिकिर गरेका छन् । जिल्ला अदालतको फैसलामा उल्लेख भएको आर्थिक अवस्था र अनुचित प्रभाव कुनै पनि तथ्य र प्रमाणले पुष्टि नहुने र आपसी सहमतिमै होटलमा बास बसेको तथा करणी लेनदेन नै नभएको दावी गर्दै सफाइको माग गरेका छन् ।

बुधबार ३ बजेसम्म सबै पक्षको बहस र जवाफी बहस सकी बुधबार साँझसम्ममा संक्षिप्त आदेशसहितको फैसला सुनाउने तयारी गरिएको उच्च अदालत पाटन श्रोतले बताएको छ ।

सन्दीपको उच्च अदालत यात्रा

जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप सफाइको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदनका लागि पुगेका थिए । वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल पनि उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला नमिलेको भन्दै उच्च अदालत पुगेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले गते पुष १३ गते सन्दीप लामिछाने विरुद्धको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । अभियोगपत्रमा पीडित नाबालिग रहेको कारण १२ देखि १४ वर्षसम्मको कैद सजायको माग गरिएको भएपनि जिल्ला अदालतले पीडित वारदातको समयमा वालिग रहेको फैसला सुनाएको थियो । वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।

परिवर्तित नाम गौशाला–२६ ले २०७९ भदौ ५ गते राति सन्दीपले आफूमाथि गौशालाको एक होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । किशोरीको परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गरी २०७९ कात्तिकमा मुद्दा चलाएको थियो ।

उच्च अदालतले सन्दीपलाई सफाइ दिएमा उनले टी–२० वर्ल्डकप खेल्न पाउनेछन् । जिल्ला अदालतकै फैसला सदर भएमा उनले ८ वर्ष जेल सजाय बिताउनुपर्नेछ भने उच्च अदालतले पीडित बालिग रहेको ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाएर नाबालिग ठहर गरेमा उनी कम्तीमा १२ वर्ष जेलमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?