राजश्व छली मुद्दामा हाइटेक इन्टरनेशनल दोषी ठहर, सञ्चालक हरि कुमार श्रेष्ठलाई जेल सजाय समेत हुने

लोकपथ
154
Shares

मदन ढुङ्गाना/काठमाडाैं । एक अर्बभन्दा बढी रकमको राजश्व छलीमा हाइटेक इन्टरनेशनल प्रालि दोषी ठहर भएको छ । मंगलबार उच्च अदालत पाटनले राजश्व छलीको कसुरमा हाइटेक इन्टरनेशनल प्रालि र त्यसका सञ्चालकलाई दोषी ठहर गरेको हो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश विदुर कोइरालाको इजलासले हाइटेक इन्टरनेशनल प्रालि र त्यसका सञ्चालक हरि कुमार श्रेष्ठलाई राजश्व छलीको कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १३ गतेको पेशी तोकेका हुन् ।

राजश्व अनुसन्धान विभागले लामो अनुसन्धान गरी २०७७ असोज २२ गते काठमाडौं जिल्ला अदालतमा १ अर्ब ७१ करोड ५६ लाख २८ हजार १११ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । मुद्दा दायर गर्दा विगोको तीन गुणासम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको मागदावी समेत लिइएको थियो ।

उक्त मुद्दा पछि उच्च अदालतले हेर्ने भई उच्च अदालत पाटनको क्षेत्राधिकारमा गएपछि उच्च अदालत पाटनले हेर्न सुरु गरेको थियो । उच्च अदालत पाटनमा ३८ पटक पेशीमा चढेपछि मंगलबार उक्त मुद्दमा फैसला सुनाउँदै सजाय निर्धारण पूर्वको प्रतिवेदन पेश गर्न आदेश भएको हो ।

यस्तो थियो मुद्दा
हाइटेक ब्राण्डमा विभिन्न विद्युतीय सामाग्रीहरु आयात गरी विक्री वितरण समेत गर्ने गरेको हाइटेक इन्टरनेशनल प्रालिले विभिन्न आर्थिक वर्षहरुमा भन्सार छली गरी सामान आयात गरेको र त्यसको भुक्तानीका लागि गैर कानूनी रुपमा विदेशी मुद्रा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको भन्दै अनुसन्धान भई अदालतमा मुद्दा दर्ता भएको थियो । कम्पनी र यसका सञ्चालक हरि कुमार श्रेष्ठले भन्सार छली गरी सामान ल्याएर विक्री वितरण गरेको र त्यसवापतको रकम विदेश पठाएर राजश्व छली तथा विदेशी विनिमय अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।

कम्पनी र यसका सञ्चालक हरिकुमार श्रेष्ठ तथा पप्पु कुमार जैसवालले भन्सार बिन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याएको र त्यसरी नेपाल ल्याएको सामानको यथार्थ कारोवार नदेखाई यथार्थ र वास्तविक कारोवारको छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावट गरेको पाइएको थियो ।

अनुसन्धानको क्रममा वास्तविक विक्री वस्तु र त्यसको मूल्यको विवरण नराखी छुट्टै लेजर राखेको पाइएको थियो । अनुसन्धानको क्रममा त्यस्तो लेजरसमेत भेटिएपछि सोहीबाट अनुसन्धान सुरु भई १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार भएको पाइएको थियो ।

सोही कसुरमा हाइटेक इन्टरनेशनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठसँग विगोको तीन गुणा अर्थात् ५ अर्ब १४ करोड ६८ लाख रुपैयाँसम्म जरिवाना गर्न मागदावी लिइएको थियो ।

मंगलबारको फैसलामा सञ्चालक हरि कुमार श्रेष्ठलाई दोषी ठहर गर्दै सजाय निर्धारण पूर्वको प्रतिवेदन पेश गर्न आदेश भएको छ भने पप्पु कुमार जयसवालको हकमा दावी नपुग्ने फैसला गरिएको छ । यससँगै हाइटेक इन्टरनेशनल प्रालिले राजश्व छली गरेको ठहर भई विगोको तीन गुणासम्म जरिवाना र कैद सजायसमेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?