‘मिस यूनिभर्स नेपाल २०२४’ को लागि आवेदन खुला

लोकपथ
7
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल’को लागि आवेदन खुलेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस प्रतियोगिताको लागि आवेदन खुलेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै मिस यूनिभर्स नेपालको नेसनल डिरेक्टर सङ्गिता पुरीले भनिन्, ‘मिस यूनिभर्स नेपाल २०२४’ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। हामी सबै आ–आफ्नै तरिकाले पर्फेक्ट छौं र यस वर्ष हामी सबै क्षेत्रका महिलाहरूलाई समावेश गर्दै ‘मिस यूनिभर्स नेपाल’लाई थप समावेशी बनाउन प्रतिबद्ध छौं।’

प्रतियोगिताको आवेदन जेठ १ गतेदेखि असार १ गतेसम्म खुल्ला रहनेछ।इच्छुक महिलाहरूले खल्ती एप अथवा मिस यूनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत अनलाइन फारम भरेर आवेदन पेश गर्न सक्छन्। आवेदन खुला हुने अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको हो।

उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाहरूले प्रतियोगितामा आवेदन दिन पाउनेछन्। उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुराहरूको प्रतिबन्ध नभएको मिस यूनिभर्समा नेपालीको साथै गैर आवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन पाउने बताइएको छ।

मिस यूनिभर्स नेपाल २०२४ को विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा आयोजना हुन लागेको ७३औं मिस यूनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?