सन्दीप लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ सुरु

लोकपथ
140
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

जबरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप सफाई माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदनका लागि पुगेका थिए । यता वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल पनि उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला नमिलेको भन्दै उच्च अदालत पुगेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले गत पुष १३ गते सन्दीप लामिछानेविरुद्धको मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । यद्यपि आरोपपत्रमा पीडित नाबालिग रहेको दावी गरिएपनि जिल्ला अदालतले भने वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको फैसला सुनाएको थियो ।

परिवर्तित नाम गौशाला २६ ले २०७९ भदौ ५ गते राति सन्दीपले आफूमाथि गौशालाको एक होटलमा लगी बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

मंगलबारबाट सुनुवाइ सुरु भएको यस मुद्दामा अन्य आदेश नभएमा मंगलबार नै वा निरन्तर सुनुवाई गरी फैसला सुनाउने तयारी छ । उच्च अदालतले सन्दीपलाई सफाई दिएमा उनी टी -२० वर्ल्डकप खेल्न पाउनेछन् ।

जिल्ला अदालतकै फैसला सदर भएमा उनले ८ वर्ष जेल सजाय बिताउनुपर्नेछ भने उच्च अदालतले बालिग ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाएर नाबालिग ठहर गरेमा उनी कम्तीमा १२ वर्ष जेलमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?