अनलाइन टाइपिङ भन्दै जागिरको अफर, अश्लील भिडियो च्याटमा लगाएपछि गिरोहकी एक सदस्य पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । जागिर दिन्छु भन्दै बालिकाहरुलाई अश्लील क्रियाकलापमा संलग्न गराउने गिरोहकी एक सदस्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । कार्यालयले आइतबार काठमाडौंको माकलबारीबाट १९ वर्षीय किशोरी अञ्जली अधिकारीलाई पक्राउ गरेको हो ।

भारतीय गिरोहले नेपालका बालिका तथा किशोरीहरुलाई प्रयोग गरी अश्लील भिडियो च्याटमा बस्न लगाउने गरेको थियो । सोही गिरोहकी सदस्य रहेकी १९ वर्षीय अञ्जलीलाई आइतबार मात्रै प्रहरीले पक्राउ गरेको थियो ।

सो गिरोहले स्ट्रिप च्याट नामक अश्लील भिडियो च्याट हुने पेजमा अकाउण्ट खोली अश्लील हर्कत गर्न लगाउने र नाङ्गै बसेर यौनाङ्ग देखाउने लगायतको काम गर्दै आएको थियो । त्यसवापत प्राप्त हुने टोकनबाट निश्चित रकम ती बालिका तथा किशोरीहरुलाई दिने गरिएको पाइएको छ ।

यस गिरोहले आर्थिकरुपमा विपन्न परिवारका बालवालिकाहरुलाई जागिर लगाइदिने लगायत आर्थिक प्रलोभनमा पारी सुरुमा अनलाइन टाइपिङको काम हो भनी बोलाउने गरेको थियो । पछि बालिका तथा किशोरीलाई अनुहार देखाउनु पर्दैन, लाइभमा बसेर कुराकानी गर्ने र यौनाङ्ग देखाएपछि पैसा पाइन्छ भन्दै फकाएर लाइभ सेक्स च्याटमा राख्ने गरिएको थियो ।

यसरी अश्लील सामाग्री निर्माणमा प्रयोग गरेको र इच्छा विपरीत नै जबरजस्ती यस्तो कार्या गर्न लगाएको भन्दै एक पीडित बालिकाले उजुरी दिएपछि अपराध अनुसन्धान कार्यालयले त्यस्तो कार्यमा संलग्न १९ वर्षीय अञ्जली अधिकारीलाई पक्राउ गरेको हो ।

सिन्धुपलाचोक पाँचपोखरी गाउँपालिका ६ स्थायी ठेगाना भई हाल वौद्ध माकलबारीमा बस्ने १९ वर्षीय अधिकारी भारतीय गिरोहले सञ्चालन गरेको अवैध स्ट्रिप च्याटका लागि काठमाडौंमा युवती तथा किशोरी खोज्ने समूहको सदस्य हुन् ।

भारतीय गिरोहले अञ्जली लगायतका व्यक्तिहरुको प्रयोग गरी किशोरी खोज्ने, उनीहरुका लागि सेक्स च्याट गर्न मिल्ने कोठा सेटअप गरिदिने, त्यसका लागि ल्यापटप, मोबाइल र कम्प्युटर तथा वेभ क्यामेरा किनिदिने तथा पारदर्शी कपडाहरुसमेत दिने गरेको पाइएको छ ।

गिरोहका भारतीय सदस्यहरु भने पक्राउ नपरेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी अञ्जलीलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ अनुसार बालबालिका विरुद्धको कसुर मुद्दामा थप अनुसन्धान र अभियोजनका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?