नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित

लोकपथ
98
Shares

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो ।

नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताए । कुनैपनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताका छन् । ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ उनले भने ।

कलेजले १४ जना इन्चार्ज सहित मेट्रोन लगायतलाई समेत सम्मान गरेको छ । बिरामीको रातदिन सेवा गर्न समर्पित नर्सहरुलाई उत्प्रेरणा दिने अभिप्रायले सम्मान गरिएको हो ।

कार्यक्रममा कलेजका नर्सहरुले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । साथै, नर्सिङ दिवसकै अवसरमा नर्सहरुको तर्फबाट अस्पतालमा उपचाररत करिब १३० जना बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।

हरेक वर्ष मे १२ का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइने गरिन्छ । इन्टरनेशनल काउन्सिल अफ नर्सेसले सन् १९६५ देखि नर्सिङ पेशामा समर्पित नर्सहरुको सम्मानमा नर्सिङ दिवस मनाउन थालेको हो । फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा हरेक वर्ष उनको जन्मदिनको अवसरमा नर्सिङ डे मनाइन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?