‘विद्यार्थी महोत्सव’ले विद्यार्थी आन्दोलनभित्र सृजनात्मक भूमिकाको खोजी गर्नेछ : समिक बडाल

लोकपथ
26
Shares

काठमाडौं । पछिल्ला बर्षहरुमा विद्यार्थी आन्दोलनको प्रभावबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सडक आन्दोलनका क्रममा उत्तेजित र अराजक शैली प्रस्तुत गरिएको भन्दै आलोचना भइरहेको छ । यसै सिलसिलामा एमाले निकट अनेरास्ववियुले आन्दोलनको स्वरुप परिवर्तनको शुरुवात गर्ने लक्षण देखाएको छ । यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘विद्यार्थी महोत्सव–२०८१’को आयोजना गरेर विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने तयारी थालिएको छ । यसै विषयमा केन्द्रित रहेर अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालसँग संक्षिप्त कुराकानी गरिएको छ ।
आन्दोलनका क्रममा विद्यार्थी संगठनहरुले सडकमा ढुंगामुढा गरेको,नारा जुलुस, पुत्ला जलाएको र राँके जुलुस गरेको मात्र हामीले सुन्दै र देख्दै आएका छौं । सोही आन्दोलनबाट आएका नेताहरुबाट एकाएक यो विद्यार्थी महोत्सव गर्ने सोच कसरी पलायो ?
नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा अनेरास्ववियुको अलग्गै भूमिका छ । यतिबेला अनेरास्ववियु स्थापना भएको ६० वर्षको जन्मदिन मनाउने तयारीमा छौं । विशेषत नेपालको विद्यार्थी आन्दोलनलाई बुझ्ने तरिका विगतदेखि नै फरक छ । हामी व्यवस्था परिवर्तनको आन्दोलनहरुमा, जनजीविका मुद्दाहरुमा विद्यार्थी नेताले आफ्ना तवरबाट निर्णायक भूमिका निर्वाह गरेका थिए र गरिरहेका छन् ।

विद्यार्थी आन्दोलनमा लागिसकेपछि जोकोही व्यक्ति राजनीतिक दललाई नेता मात्र हुन्छन् भन्ने आम बुझाई छ । हामी त्यो बुझाइलाई परिवर्तन गर्न खोज्दैछौं । नेपालको विद्यार्थी आन्दोलनले राजनीतिक नेतृत्व मात्र होइन् सँगसँगै विभिन्न क्षेत्रका विज्ञहरु उत्पादन पनि गरिरहेको छ । हिजो हामी अधिकार प्राप्तीको आन्दोलनमा राजनीतिक दलहरुसँग थियौं, व्यवस्था परिवर्तनले हामीले त्यो अभिभारा पुरा गरिसकेका छौं ।

विश्वकै उत्कृष्ट व्यवस्था आज हाम्रो मुलुकमा छ । प्रतिस्पर्धाबाट नै सृष्टता हासिल गर्ने नेतृत्व आज हामीले प्राप्त गरेका छौं । व्यवस्थाभित्र उन्नत खालका राम्रो विचार भएका र मुलुकलाई हाँक्नसक्ने नेतृत्वहरु ल्याउन सफल भएका छौं । आवधिक निर्वाचन प्रणाली सुन्दर व्यवस्थामार्फत नेतृत्व स्थापित गर्ने विधि आज हामीले स्थापित गराएका छौं । अब नेपालको विद्यार्थी क्षेत्रले कुनै सामन्ती व्यवस्थालाई गाली गर्ने अवस्था छैन् । त्यसको सामना गर्नुपर्ने छैन । अब मुलुकलाई समृद्ध कसरी बनाउने, कसरी आम नेपालीलाई सुखी बनाउने, कसरी युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बनाउने र रोजगारसँग जोड्ने, कसरी सीपसँग जोड्ने भन्ने विषय अबको नेपालको विद्यार्थी आन्दोलनले गर्नुपर्छ ।

हालसम्म रचनात्मक प्रतिपक्षको भूमिकामा विद्यार्थी आन्दोलन रह्यो । त्यसैले हामीले नेपालको विद्यार्थी आन्दोलनभित्र सृजनात्मक भूमिकाहरुको खोजी गर्ने उद्देश्यकासाथ विद्यार्थी महोत्सवको आयोजना गरेका हौं । महोत्सव हामीले किन गर्न खोजिरहेका छौ भने आज नेपालको आन्दोलनप्रति प्रश्न खडा गर्ने धेरै जमात हामीले देखेको छौं । त्यो जमातलाई हामी जवाफ दिन चाहन्छौ. । हिजो व्यवस्थाविरोधी आन्दोलनमा अनेरास्ववियु, नेविसंघ, क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले भूमिका नखेलेको भए आज यो स्वतन्त्रता प्राप्ती हुँदैनथ्यो । त्यो व्यवस्था हामीले ल्याएका थियौं । अब व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न र त्यसका लागि हामीले के गर्नुपर्छ भन्ने सन्देश यो महोत्सवबाट दिन चाहन्छौं ।

महोत्सवमा तपाईंहरुले राजनीतिक दलका नेताहरु भेला मात्र गर्न खोज्नुभएको हो कि अलिकति फरक गर्न खोज्नुभएको हो ?
महोत्सवमा सबै विचार र सिद्धान्तमा आस्था भएका राजनीति दल, समाजसेवी, शिक्षाविद र सबै संगठनका विद्यार्थीहरुलाई आमन्त्रण गरेका छौं । आयोजक अनेरास्ववियु भएतापनि साझा विद्यार्थीहरुको महोत्सवका रुपमा सफल बनाउने प्रयासमा छौं । यसमा विभिन्न १५ वटा विधामा विद्यार्थीका प्रतिभाहरुलाई देखाउँदैछौं । यस्तो सामाजिक कार्यमार्फत आफूलाई उन्नत सावित गरेका व्यक्तित्वहरुलाई राज्यमा चिनाउने छौं । विद्यार्थीहरुका विभिन्न किसिमका प्रतिभाहरुलाई हामीले एकै ठाउँमा १९ वटा कार्यक्रमलाई जोडेर विद्यार्थीहरुलाई पनि राज्यले लगानी गर्ने हो भने क्षमता भएकाहरु पनि छन् है भन्ने सन्देश दिन खोजिरहेका छौं ।

विश्वका अधिकांश मुलुकहरुमा श्रम गरेर त्यस मुलुकलाई समुन्नत गर्न सक्ने युवा साच्चिकै नेपालमा पनि श्रम गरेर प्रतिफल दिनसक्छ भन्ने देखाउन चाहेका छौं । विद्यार्थीले आत्मस्वाभिमानकासाथ मुलुक बनाउन सक्ने संकल्प गर्छ भन्ने सन्देश हामीले यो महोत्सवबाट प्रमाणित गर्नुपर्छ । त्यस्तो सन्देश राज्यलाई दिनुपर्नेछ । राज्यको चुहावट कहाँ छ त्यो देखाउनलाई पनि हामीले महोत्सव गरेका छौं । राजनीतिक आस्थासँग जोडिएकाको मात्र भेला नभइ हरेका क्षेत्रका प्रतिभाहरुलाई ल्याएर राज्यसामू चिनाउने प्रयत्नमा लागेका छौं ।

नेपालको एक जिम्मेवार विद्यार्थी संगठनले महोत्सव गरिरहँदा हाल व्याप्त सहकारी प्रकरण, भ्रष्टाचार र व्यथितिविरुद्ध आवाज उठाउनुको साटो एनजिओ, आइएनजिओले जस्तो आन्दोलन चाहि किन गर्नुभएको ?
यस्ता खालका मुमेन्ट एनजिओ आइएनजियोले गर्ने मात्र हो भन्ने बुझाइलाई चिर्नका लागि महोत्सव गरिएको हो । आम जनताको त्यस्तो बुझाईमा हामीले परिवर्तन गर्नुपर्ने छ । नेतृत्व भनेको आर्थिक, सामाजिक मुद्दामा अडिक हुनुपर्छ । तपाइँ हामीमाथि कसैले प्रश्न गर्न सक्छन् भने त्यो प्रश्नको आफ्नो जीवन र व्यवहारबाट दिनेसक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो सन्देश विद्यार्थी आन्दोलनले दिन सक्नुपर्छ । सुशासनको पछाडि दृढताकासाथ उभिने हुनुपर्छ । हरेक हिसाबले प्रश्न नउठ्ने अवस्था हामीले बनाउनुपर्छ । आज युवाहरुलाई जुन किसिमको समस्याहरु देखिरहेको छ ती समस्याहरुलाई बुझ्ने र सम्बन्धित पक्षमा खबरदारी गर्नसक्ने खालको नेतृत्व आजको आवश्यकता हो । त्यही स्तरको नेतृत्व विकास गर्नुपर्छ ।

हिजो राजनीतिक दलहरु प्रतिवन्धित हुँदा दुःख–कष्ट व्यहोरेका नेतृत्वहरु आज त्यो ठाउँमा पुग्दा उनीहरुमाथि प्रश्न उठेको छ । सोही नेतृत्वका कारण मुलुकले अर्कों दुर्दशा व्यहोर्ने होकि भन्ने शंकाका ठाउँहरु प्रशस्त देखिन्छ । अबको अवस्थालाई जोगाउनुपर्छ । नेपालको विद्यार्थी आन्दोलनलाई साँचो अर्थमा भोलिको मुलुकको नेतृत्व गर्नसक्ने बनाउनुपर्छ । यस्तो स्तरको कार्यक्रम कुनैपनि विद्यार्थी संगठनले गरेका छैनन् । राजनीतिक संगठनबाट यस्तो कार्यक्रम भएको छैन् । हामीले नै पहिलो पटक आँट गरेको छौं । सबैका छोराछोरीको भविष्य निर्माणको लागि यस कार्यक्रममार्फत राज्यलाई घचघच्याउने छौं । सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं ।

त्रिभुवन ,काठमाडौं र पोखरा विश्वविद्यालयमा हुने शैक्षिक गतिविधिलाई कुन रुपले हेरिरहनुभएको छ ? त्यसका लागि के गरिराख्नु भएको छ ? व्यथितिविरुद्ध विद्यार्थी संगठनहरु के गरिरहेका छन् ?
अनेरास्ववियुले आफ्नो प्रष्ट अवधारणा बाहिर ल्याएको छ । सम्बन्धित शिक्षा समिति होस या अन्य निकायमा गएर पनि बोलेको छौं । मन्त्रीज्युहरुले बोेलाएको ठाउँमा पनि हाम्रा धारणाहरु राखेका छौं । उच्च शिक्षा ऐन बन्ने चरणमा छ । त्यसका लागि हामीले सुझावहरु दिइसकेका छौं । नेपालमा विश्वविद्यालयको पुरानो संरचना छ, त्यो पुरानै संरचनामा विश्वविद्यालय चलिरहेको छ । विश्वविद्यालयको ऐन कानुनले विश्वविद्यालयको कुलपति मुलुकको वर्तमान प्रधानमन्त्री रहने व्यवस्था गरेको र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ ।

मुलुकको कार्यकारी पदमा भएको व्यक्ति विश्वविद्यालयको नेतृत्वमा कुलपति रहँदैगर्दा विश्वविद्यालय भन्दा जनताको दैनिक जनजीवनमा र राजनीतिक विषयमा मात्र केन्द्रीत हुनेगर्दा विश्वविद्यालयको समस्या समाधान गर्ने कार्यकारी सिनेट वर्षमा दुई पटक बस्न सकेको छैन । विश्वविद्यालयबाट परीक्षा भएको एक वर्ष भइसक्दा पनि रिजल्ट दिन सकेको छैन । के समस्या हो त्यसलाई सिनेटबाट समाधान गर्ने समय प्रधानमन्त्रीसँग हुँदैन् । त्यसैले अब कार्यकारी पदमा भएको राजनीति नेतृत्व विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिवर्तन गर्नुपर्छ ।

विश्वविद्यालयको संरचना शक्तिशाली संरचना बनाउनुपर्छ । ताकि विश्वविद्यालयको जनशक्तिलाई बजारसँग जोड्ने काम कार्यकारी पदमा भएको व्यक्तिले गर्नुपर्छ । कुलपति बनाएर सरकारले पनि त्यसको अविभावकत्व लिने अवधारणा ल्याउनुपर्छ । अनि विश्वविद्यालयमा देखिएको समस्या र नेपालमा विद्यालय शिक्षा पूरा गरिसकेका विद्यार्थीहरुको रुचीलाई हामीले विस्तारै परिवर्तन गर्न सक्छौं ।

आज बजार एकातिर छ, हाम्रो पाठ्यक्रम एकातिर छ । सिमित साक्षरताको जनशक्ति निर्माण गर्ने उद्देश्यकासाथ काम गर्नुपर्छ । मुलुकको राष्ट्रिय आवश्यकताका लागि जनशक्ति कति हो ? त्यो कुरा बुझ्नपर्छ । विदेश निर्यात गर्ने जनशक्ति जसले आजको रेमिटेन्समा पनि उन्नत रेमिटेन्स भित्रयाउन सक्छ । त्यसका लागि नीति निर्माण गर्न सक्ने अनुसन्धान केन्द्रहरु विश्वविद्यालयहरु बन्नसक्ने अवधारणा पत्र बनाउन सकिन्छ र योजना ल्याउन सकिन्छ भन्नेमा विश्वस्त छौं । आजको विश्वविद्यालयको संरचना वोर्ड अफ ट्रस्टीको अवधारणामा मात्र हुन सक्छ भन्ने कुरामा हामी दृढ छौं ।

वोर्ड अफ ट्रस्टीको अवधारणाको कुरालाई महोत्सवमा उठान गरी ल्याउन सक्ने वा प्रवेश हुने सम्भावना कतिको छ ?
महोत्सवका कार्यक्रममा यी वहसहरु गर्नेछौं । विश्वविद्यालय सुधारका विषयहरु, युवा पलायनको कुरा, राजनीति र अर्थतन्त्रका विषयहरु हामीले बनाएका छौं । युवा पलायनको समस्या नेपालको मात्र समस्या होइन् । साउथ एसियामा यो समस्याको निराकरणको लागि के गर्नुपर्छ भन्ने हिसाबले छलफल चलाउन खेजेको छौ ।

महोत्सवमा भाग लिनको लागि पैसा तिर्न पर्छ कि पर्दैन् ?
हामीले महोत्सवमा भाग लिन निशुल्क टिकटको व्यवस्था गरेका छौ. । म यही स्वदेशमा नै बसेर केही गर्नसक्छु भन्ने सोच भएका विद्यार्थीहरुलाई अवसर भरपुर लिन सकुन भनेर हामीले कोशिस गरेर निशुल्क पासको व्यस्था गरेको छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?