बत्तीसपुतलीमा सम्साँझै छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा शनिवार सम्साँझै बीच सडकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार घटनामा मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको छ ।

शनिवार साँझ करिब ७ : ५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु¥याएको थियो ।

छाती र ढाडमा गहिरो चोट लागेका धिमालको उपचारको क्रममा बेलुकी ८ : ४० बजे अस्पतालमै निधन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसएसपी मैनालीले भने, ‘अहिले हत्यामा उनीहरुको संलग्नताको विषय पुष्टि भइसकेको छैन । नाम खुलाउन मिल्दैन ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?