प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

लोकपथ
35
Shares

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा दिएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका डा दुर्गाप्रसाद ढुङ्गानाका अनुसार सेवा लिनेमध्ये महिलाको सङ्ख्या ११ हजार १२ र पुरुष आठ हजार १७ जना छन् ।

पूर्वकर्म अर्थात् बाथरोग तथा नसासम्बन्धी विभिन्न रोगको तेल राखेर गरिने उपचार सेवा लिने महिलाको सङ्ख्या पाँच हजार छ सय ३४ र पुरुष चार हजार तीनजना रहेका छन् ।

चिकित्सालयबाट तीन हजार पाँच सय ३८ महिला र दुई हजार ३९ पुरुष बिरामीले प्रयोगशाला परीक्षण गराएका छन् । मलद्वारसम्बन्धी रोगको उपचार लिने महिलाको सङ्ख्या ११ र पुरुष १४ जना रहेको जनाएको छ । आर्थिक बर्ष २०७९–८० मा २९ हजार सात सय ४७ बिरामीले उपचार सेवा लिएका थिए ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा।रामकामेश्वर ठाकुरले हाल आयुर्वेद चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, शिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुलालगायतको उपचार सेवा दिँदै आएको जानकारी दिए ।

निःशुल्क औषधि वितरण र चिकित्सालयमै जडीबुटी प्रशोधन गरी औषधी उत्पादन गर्न मेसिन जडान भइरहेको डा ठाकुरको भनाइ छ । “अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा सुदूरपश्चिम पछाडि रहेको पाएँ । मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसको सुरुआत चिकित्सालयबाटै थालेको छु”, डा ठाकुरले भने ।

सुदूरपश्चिम प्रदेशमा सातवटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ३३ वटा औषधालय र ३० वटा नागरिक आरोग्य सेवा केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?