कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

लोकपथ
247
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ । सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन् ।

पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

स्वर्गीय गुरुङप्रति शोक प्रस्ताव पारित गर्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए । ‘पार्टीका नेता, पूर्वमन्त्री सुर्यमान गुरुङको निधन भएको विषयमा छलफलका लागि सभापतिजीले आकस्मिक बैठक राख्नुभएको छ,’ उनले भने, ‘बैठकले शोक प्रस्ताव पारित गर्नेछ । त्यसपछि आजै उहाँको दाहसंस्कार गर्ने कार्यक्रम छ ।’

उनका अनुसार सम्भवतः बैठकले शोक प्रस्ताव पारित गरेपछि बिहीबार गर्ने भनिएका पार्टीका बैठक र कार्यक्रमहरु समेत स्थगित हुनेछन् ।

गुरुङको मंगलबार उपचारको क्रममा काठमाडौंको हिमाल अस्पतालमा निधन भएको थियो । १८ महिनादेखि ओछ्यान परेका उनी बाथ र सुगरका बिरामी थिए । विक्रम संवत १९९७ सालमा जन्मिएका गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गरेका थिए ।

त्यसपछि पञ्चायत विरुद्धको आन्दोलनमा लागेर भारतमा निर्वासन जीवन समेत बिताएका उनी पछि पञ्चायतमा लागेर २०३९ सालदेखि ०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको सभापति समेत भए । उनी ०५६ सालमा ताप्लेजुङबाट कांग्रेसको उम्मेदवार थिए ।

२०६४ मा भने उनी माओवादीका राम कार्कीलाई पराजित गर्दै प्रतिनिधिसभाको सदस्य बने । २०७० सालमा कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बनेका थिए । उनले करिब १० वर्ष कांग्रेसको ताप्लेजुङ जिल्ला सभापति भएर काम गरेका थिए ।

गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । छोराहरु विदेशमा भएका कारण मंगलबार निधन भएका उनको बिहीबार मात्रै दाहसंस्कार गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?